भद्रपुर, फागुन १६ । प्रथम भद्रपुर झापा गोल्डकप फुटबल प्रतियोगिताको उपाधिका लागि आज त्रिभुवन आर्मी फुटबल क्लब र मछिन्द्र फुटबल क्लबबीच प्रतिस्पर्धा गर्दै छन् ।
विभागीय टोली आर्मीका प्रशिक्षक राजु तामाङले मछिन्द्र सशक्त प्रतिद्वन्द्वी भएको बताए । उनले आफूहरू पनि लिगको दोस्रो टिम भएकाले भद्रपुर झापा गोल्डकपको फाइनलमा नतिजा निकाल्ने गरी रणनीति बनाएर मैदान उत्रिने बताए ।
उनले लिगमा मछिन्द्रसँग नतिजा हात पार्न नसके पनि गोल्डकप नकआउट गेम भएकाले ९० मिनेटभित्रै नतिजा ल्याउने गरी खेल्ने बताए । भद्रपुर झापा गोल्डकपमा आर्मीले अधिकांश दोस्रो टिमका खेलाडीलाई खेलाइरहेको छ ।
त्यस्तै, साताअघि सर्लाहीमा राजर्षि जनक कप जितेको मछिन्द्र भद्रपुर झापा गोल्डकपमा विजयी हुनेमा विश्वस्त रहेको प्रशिक्षक प्रवेश कटुवालको दाबी छ । उनले फाइनल जित्ने रणनीतिका साथ खेलाडी मैदानमा उतार्ने तयारी रहेको बताए ।
कप्तान सुजल श्रेष्ठले गोल्डकपको दुई खेलमा आफ्नो टिमको प्रदर्शन चित्तबुझ्दो नै रहेकाले फाइनलमा पनि राम्रो प्रदर्शन गर्नेगरी रणनीति बनाइरहेको बताए ।
सेमिफाइनलमा आर्मीले संकटा क्लबलाई र मछिन्द्रले एपीएफ क्लबलाई पराजित गर्दै फाइनल यात्रा तय गरेका हुन् । विजेताले १३ लाख र उपविजेताले ७ लाख रुपैयाँ र ट्रफी प्राप्त गर्ने गोल्डकप आयोजक समितिका अध्यक्ष दीपेश ढकालले जानकारी दिए ।
सर्वोत्कृष्ट खेलाडीलाई एक लाख रुपैयाँ तथा उत्कृष्ट गोलरक्षक, सर्वाधिक गोलकर्ता, उदीयमान खेलाडी, उत्कृष्ट डिफेन्डर, मिडफिल्डर, फरवार्ड, फाइनलका पहिलो गोलकर्ता र उत्कृष्ट प्रशिक्षकलाई जनही २५ हजार रुपैयाँले पुरस्कृत गर्ने आयोजकका महासचिव जीवनकुमार श्रेष्ठले जनाए ।