बिर्तामोड, फागुन २८ । नेपालले आइसिसी विश्वकप लिग–२ त्रिकोणात्मक ओडिआई सिरिजमा युनाइटेड अरब इमिरेट्स (युएई) माथि १७७ रनको कीर्तिमानी जित हात पार्दै अंक तालिकामा चौथो स्थानमा उक्लिएको छ ।
योसँगै नेपालले आगामी चार वर्षको लागि ओडिआई मान्यता पक्का गरेको छ । बाँकी दुवै खेलमा पराजित भए पनि नेपालले सोझै ओडिआई मान्यता प्राप्त गर्नेछ ।
नेपाल ३४ खेलमा १७ मा जित र १५ मा हारसहित ३६ अंकका साथ चौथो स्थानमा उक्लिएको छ । नेपालले अमेरिकालाई पछि पार्दै अंक तालिकामा एक स्थान सुधार गरेको हो ।
नेपालले अब दुई खेल खेल्न बाँकी छ । दुवै खेल जितेको खण्डमा नेपाल शीर्ष तीनमा रहँदै आगमी जुन जुलाईमा जिम्बावेमा हुने विश्वकप छनोट सिधै खेल्न पाउनेछ । दुईमध्य एक खेल हारेको खण्डमा नेपालले यसै महिना अन्तिममा नामिबियामा हुने क्वालिफायर प्लेअफ खेल्नुपर्ने हुन्छ ।
यसैबीच, युएईले भने सोझै ओडिआई मान्यता प्राप्त गर्ने अवसर गुमाएको छ । युएई ३४ खेलमा १४ मा जित र १७ मा हारसहित ३१ अंकका साथ छैटौँ स्थानमा छ । युएईले बाँकी दुवै खेल जिते पनि शीर्ष पाँचमा पर्न सक्दैन ।
त्यसैले, सोझै ओडिआई मान्यताको अवसर गुमाएको हो । युएईले अव ओडिआई मान्यता प्राप्त गर्न प्लेअफ क्वालिफायरमा शीर्ष चारमा पर्नुपर्ने हुन्छ ।
स्कटल्यान्ड ३६ खेलमा ५० अंकका साथ च्याम्पियन हुँदै सोझै विश्वकप छनोटमा पुगिसकेको छ । ओमान पनि ३६ खेलमा ४४ अंकका साथ दोस्रो स्थानमा रहँदै सोझै विश्वकप छनोटमा स्थान बनाइसकेको छ । अब नेपाल र नामिबियामध्ये एकले सोझै विश्वकप छनोटमा खेल्नेछन् ।
युएई, अमेरिका र पपुवा न्युगिनीले प्लेअफ खेल्ने पक्का भइसकेको छ । लिग २ का चार टोलीसँगै जर्सी र क्यानडा प्लेअफमा हुनेछन् । जसबाट शीर्ष दुई टोली विश्वकप छनोट खेल्न पाउनेछन् । शीर्ष चारमा रहने दुई टोलीले ओडिआई मान्यता प्राप्त गर्नेछन् ।
जितको लागि २४९ रनको विजयी लक्ष्य पछ्याएको युएई २२.१ ओभरमा ७१ रनमा अल आउट भयो । नेपालका ललितनारायण राजवंशीले सर्वाधिक पाँच विकेट लिए । त्यसअघि टियुमा टस जितेर पहिला ब्याटिङ रोजेको नेपाल ४९.२ ओभरमा २४८ रनमा अल आउट भएको थियो । नेपालका रोहित पौडेलले सर्वाधिक ७७ रन बनाए ।
अंक तालिका
स्कटल्यान्ड ३६ खेलमा २४ मा जित र १० मा हारका साथ ५० अंकका साथ शीर्ष स्थानमा रहँदै च्याम्पियन बन्यो । ओमान ३६ खेलमा २१ मा जित र १३ मा हारसहित ४४ अंकका साथ दोस्रो स्थानमा छ । नामिबिया ३६ खेलमा १९ मा जित र १६ मा हारका साथ ३९ अंकका साथ तेस्रो स्थानमा छ ।
नेपाल ३४ खेलमा १७ मा जित र १५ मा हारसहित ३६ अंकका साथ चौथो स्थानमा छ । अमेरिका ३६ खेलमा १६ मा जित र १७ मा हारसहित ३५ अंकका साथ चौथो स्थानमा छ ।
युएई ३४ खेलमा १४ मा जित र १७ मा हारसहित ३१ अंकका साथ छैटौँ स्थानमा छ । पपुवा न्युगिनी ३४ खेलमा ५ मा जित र २८ मा हारसहित ११ अंक जोड्दै पुछारमा छ ।
-हाम्रो खेलकुदबाट