
बिर्तामोड, चैत ५ । यो वसन्त ऋतुको समय हो । वनस्पतीले नयाँ पालुवा फेर्न सुरु गरिसकेका छन्, अनि मानिसहरु नयाँ उमंगका साथ नयाँ वर्ष मनाउने उल्लासमा नयाँ गन्तव्यको खोजी गर्दैछन् ।
तर, यसपालिको नयाँ वर्षको लागि गन्तव्य पनि नयाँ छ, चेप्टी । अर्थात ह्याप्पी ड्रिम्स चेप्टी । यतिबेला मानिसहरु नयाँ वर्षको खुसीयाली साँट्न र रमाउन चेप्टी जाने योजनामा छन् ।

इलाम र झापाको संगममा रहेको ह्याप्पी ड्रिम्स चेप्टी नयाँ वर्ष मनाउन आउने स्वदेशी र भारतीय पर्यटकको पर्खाइमा सिँगारिएर बसेको छ ।
खण्डहर बगरलाई सौन्दर्य भरेर कसरी रमणीय स्थान बनाउन सकिन्छ भन्ने उदाहरण हेर्न दक्षिणी इलामको चेप्टी पुग्दा हुन्छ ।

चेप्टी पुग्नका लागि बिर्तामोडबाट खुदुनाबारी हुँदै सहिद सहादत स्थल सुखानीबाट पश्चिम लाग्नुपर्ने हुन्छ । यो बाटो छोटो तर कच्ची रहेको छ । यो छोटो बाटोमा केही समय जंगलबीच हुँदै खोलाको यात्रा रहेकाले रोमाञ्चक भने अवश्य हुनेछ ।

त्यस्तै, दानाबारी बजारसम्म पक्की बाटो हुँदै पुगेर पुनः कच्ची बाटो दक्षिण उकालो भएर पनि चेप्टी सजिलै पुग्न सकिन्छ ।
बृहत् आकारमा फैलिएको चेप्टी पार्कलाई आन्तरिक तथा बाह्य पर्यटकको गन्तव्य बनाउन युवा व्यवसायी दिनेश शिवाकोटीको परिकल्पना साकार हुँदै गएको छ । शिवाकोटीले सञ्चालन गर्दै आएको पार्कको लगभग ८० प्रतिशत काम सकिएको छ ।

दृढ आत्मविश्वास र इच्छाशक्ति भएका झापा सुरुङ्गाका युवा शिवाकोटीको यो ‘बिग प्रोजेक्ट’ निर्माणको अन्तिम चरणमा पुग्दा निक्कै लोभलाग्दो देखिएको छ ।
मानिसहरु दिनभरि नै चेप्टीमा समय बिताउन थालेका छन् । सञ्चालक शिवाकोटीले खान र बस्नका लागि होटल र रिसोर्ट पनि तयार गर्दै छन् ।
दुबईमा रहेको विश्वचर्चित मिराकल पार्कलाई बिर्साउनेगरी चेप्टीले आकार लिँदै गएको छ । माईखोलाकै किनार र चुरेको फेदीमा शिवाकोटीले निर्माण गरेका चेप्टीमा घुम्ने आउनेको संख्या थामिनसक्नुको छ । भव्य पार्कमा मन्त्रमुग्ध बनाउने दर्जनौँ स्थलहरु छन् ।

माईखोलाको कलकल आवाज, चुरेको हरियालीको सुसाइले गर्दा ह्याप्पी ड्रिम्समा रात बिताउनेहरुलाई अझ बढी आनन्द मिल्नेछ ।
पछिल्लो दुई वर्षदेखि निर्माण भइरहेको पार्कमा अहिलेसम्म २५० भन्दा धेरै प्रकारका हेर्न र प्रयोग गर्न मिल्ने स्थलहरु तयार भइसकेको छ । खासगरी शान्त तथा स्वच्छ वातावरण, खोला र चुरेको संगममा पार्क बनिरहेकाले पर्यटकले घण्टौँ बिताउन सक्छन् ।
निर्माणाधीन अवस्थामै रहेको पार्क क्षेत्रमा रात बिताउनका लागि रिसोर्ट शैलीका घरहरु बनिरहेका छन् । चेप्टी घुम्न दैनिक दुई हजारभन्दा बढी पर्यटक आउने गरेका छन् ।

ह्याप्पी ड्रिम्स चेप्टीको परियोजना सफल बनाउन शिवाकोटीले केबलकारको परिकल्पना पनि गरेका छन् । पार्कको सम्पूर्ण डिजाइन र निर्माण सल्लाह आफैँले दिँदै आएका उनले झापाको दोमुखादेखि चेप्टीसम्म झन्डै छ किलोमिटर लामो केबलकार सञ्चालनको योजना सुनाए ।
त्यस्तै, माईखोलामा पानीको सतह बढेको बेला स्टिमर र मोटरबोट सञ्चालन गर्ने उनको तयारी छ ।
माईखोला धार्मिक दृष्टिले पवित्र र पावन मानिने भएकाले चेप्टी क्षेत्रलाई धार्मिक पर्यटकीय क्षेत्रका रुपमा पनि हेर्न सकिने उनको बुझाइ छ । त्यस्तै, दोमुखाबाट हात्ती, घोडा, उँटको यात्रा गराएर चेप्टी पुर्याउने उनको दीर्घकालीन योजना छ ।
चेप्टीमा बोटिङ, १८० फिट अग्लो झरना, घोडा, उँट, बालबालिकाका लागि प्लेन, पिङ, पिकनिक स्पट, आकर्षक हिमाल, हिमालबाट बग्ने झरना, रक गार्डन, डान्सिङ कटेज, आकर्षक गार्डेन, साथै मुर्तिकलाहरु, ड्राइगन, हात्ती, जेब्रा लगायत बालबालिका, ज्येष्ठ नागरिकहरुका लागि मनोरञ्जनात्मक हेर्ने तथा खेल्ने संरचनाहरु तयार भएका छन् ।

 
            

 
    
     
    
     
    
     
    
     
    
     
    
    
 

 
    