२०८१ बैशाख २७ बिहीबार
Jhapa Today
Adv top
Adv below_nav

पूर्ण–टुङ्ग बस्नेतको स्मृति ‘निष्ठाको शतक’ लोकार्पण


बिर्तामोड, चैत १९ । इलामको साखेजुङबाट झापा बिर्तामोड आएर राजनीतिक र व्यावसायिक क्षेत्रमा नाम कमाएका बस्नेत परिवारले आफ्ना अभिभावकको स्मृतिमा संस्थामार्फत ‘निष्ठाको शतक’ नामक पुस्तक एक भव्य कार्यक्रमका बीच लोकार्पण गराएका छन् ।

झापा बिर्तामोडको पूर्ण–टुङ्ग स्मृति प्रतिष्ठानले शब्दचित्रमा टुङ्गबहादुर बस्नेत ‘निष्ठाको शतक’ नामक पुस्तक लोकार्पण गराएको हो ।

राष्ट्रियसभा सदस्य गोपालकुमार बस्नेत, श्यामकुमार बस्नेत, जितेन्द्रकुमार बस्नेतसहित परिवारले स्वर्गीय पिता टुङ्गबहादुर तथा माता पूर्णकुमारी बस्नेतको जीवनीमा आधारित पुस्तक सार्वजनिक गरेका हुन् ।

बिर्तामोडमा सञ्चालित पूर्ण–टुङ्ग बिर्ता सिटी हस्पिटल एन्ड रिसर्च सेन्टरका सञ्चालक समेत रहेका गोपालकुमार बस्नेतसहित परिवारले स्वर्गीय पिता टुङ्गबहादुर तथा माता पूर्णकुमारी बस्नेतको शालिक अनावरणसहित ‘निष्ठाको शतक’ नामक स्मृतिग्रन्थ विमोचन गरेको हो ।

उक्त पुस्तकको विमोचन शनिबार कार्यक्रमका प्रमुख अतिथि तथा पूर्वमन्त्री केशवकुमार बुढाथोकीले गरेका हुन् । पूर्ण–टुङ्ग स्मृति प्रतिष्ठानका अध्यक्ष गोपालकुमार बस्नेतले आफू जीवितै हुँदा स्वर्गीय बुबाको आफ्नो बारेमा किताब प्रकाशन गर्ने इच्छा भएको बताउँदै बुबाको निधनपछि आफूहरुलाई त्यसको चिन्ता भएकोले पिताको इच्छाअनुसार नै पुस्तक प्रकाशन गरेको बताए ।

पिताको निधनपछि पिताका समकालीन साथीभाइसँग स्मृति लेखिमागेर भए पनि बुबाको अनुभवलाई पुस्तकको रुप दिने परिवारमा सल्लाह गरेर पुस्तक प्रकाशन गर्न सफल भएको बस्नेतले बताए ।

प्रतिष्ठानका अध्यक्ष बस्नेतको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत हस्पिटलका प्रशासन प्रमुख विनोद बस्नेतले गरेका थिए । कार्यक्रममा समिरबाबु कट्टेलले सम्पादन गरेको पुस्तकको समीक्षा साहित्यकार विष्णुकुमार भट्टराई र मेची बहुमुखी क्याम्पसका प्राध्यापक तारा विविधले गरेका थिए ।

कार्यक्रममा प्रमुख अतिथि तथा पूर्वमन्त्री केशवकुमार बुढाथोकी, कानुनविद् लीला उदासी, खप्तडी बस्नेत वंशावलीका केन्द्रीय अध्यक्ष खड्गबहादुर बस्नेत, पत्रकार चन्द्र भण्डारीलगायतले शुभकामना मन्तव्य राखेका थिए ।

विमोचन कार्यक्रममा संविधानसभा सदस्य सुधीरकुमार शिवाकोटी, इतिहासविद् युद्धप्रसाद वैद्य, इलाम नगरप्रमुख केदार थापा, समाजसेवी टिएन भट्टराई, पूर्णनन्द शर्मा, हस्पिटलका कार्यकारी निर्देशक आनन्द बस्नेत लगायतको उपस्थिति रहेको थियो ।

कार्यक्रमको सञ्चालन डम्बर बस्नेतले गरेका थिए । पुस्तक ४०२ पानाको रहेको छ भने प्रतिष्ठानको यो पहिलो संस्करण हो ।

पुस्तकमा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेपाली कांग्रेसका पूर्व महामन्त्री केबी गुरुङ, नेकपा (एकीकृत समाजवादी) नेता तथा पूर्व प्रधानमन्त्री झलनाथ खनाल, सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्की, नेपाली कांग्रेस इलाम सभापति डम्बरबहादुर खड्कालगायले शुभकामना दिएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

*

*

Adv footer