२०८२ साउन २ शुक्रबार
Jhapa Today
Adv top

ढकाललाई उपाध्यक्ष पदमा झापाका वस्तुगत संघको समर्थन


बिर्तामोड, चैत २० । नेपाल उद्योग वाणिज्य महासंघको आसन्न निर्वाचनमा नेपाल चिया उत्पादक संघ झापाले वस्तुगत संघबाट चिया उद्यमी हेमराज ढकाललाई उम्मेदवार घोषणा गरेको छ ।

ढकाललाई झापाका रहेका सबै वस्तुगत संघले सिफारिससहित समर्थन गरेका छन् । नेपाल चिया उत्पादक संघका पूर्वसचिव तथा हालका सदस्यसमेत रहेका ढकाललाई वस्तुगततर्फबाट उपाध्यक्षमा झापाका वस्तुगत संघले सिफारिस गरेका हुन् ।

आइतबार बिर्तामोडमा पत्रकार सम्मेलन गरी संघले ढकालको उम्मेदवारी घोषणासँगै समर्थन जुटाएको हो । महासंघको चैत २८ र २९ गते काठमाडौँैमा ५७ औँ वार्षिक साधारणसभा चुनावी अधिवेशन हुँदैछ ।

साधारणसभाले आगामी चार वर्षका लागि महासंघको नेतृत्व चयन गर्नेछ । नेतृत्वका लागि विभिन्न तीनवटा समूहले चुनावी प्रचार चलाइरहेको छ ।

चिया लगायतका कृषिजन्य उत्पादनको विकास, प्रबर्द्धन र समस्या समाधानमा नेतृत्व लिनसक्ने छवि भएको व्यावसायिक व्यक्तित्वका रुपमा ढकाललाई उपाध्यक्षको उम्मेदवार बनाउन लागिएको नेपाल चिया उत्पादक संघ झापाका अध्यक्ष सुरेशकुमार अग्रवालले बताए ।

ढकाल वर्तमान उपाध्यक्ष उमेशलाल श्रेष्ठको प्यानलबाट उठ्न लागेका हुन् । नेपाल उद्योग वाणिज्य महासंघ कोसी प्रदेशका अध्यक्ष टिकाराज ढकालले आर्थिक संकट र मन्दीको यो बेलामा महासंघको नेतृत्वमा जुझारु नेतृत्वको खाँचो रहेकाले उपाध्यक्षमा ढकाललाई अगाडि सारिएको बताए ।

कार्यक्रममा नेपाल अलैँची व्यवसायी महासंघका अध्यक्ष निर्मल भट्टराई, नेपाल इँटा उत्पादक महासंघका अध्यक्ष मदन मित्तल, नेपाल भेनियर उत्पादक संघका अध्यक्ष दिपक पाण्डे, नेपाल सुपारी प्रशोधन तथा निर्यात व्यवसायी संघका अध्यक्ष देवी खतिवडा, झापा उद्योग संघका अध्यक्ष यामबहादुर श्रेष्ठ, नेपाल अदुवा उत्पादक संघका अध्यक्ष टोम राजवंशी लगायतले ढकालको पक्षमा ऐक्यबद्धता जनाएका छन् ।

Adv footer