बिर्तामोड, चैत २४ । धार्मिक तथा दार्शनिक प्रवचन दिन डा. योगी विकासानन्द झापाको बिर्तामोड आउने भएका छन् । उनी पहिलोपटक झापा आउन लागेका हुन् ।
विश्व परिवार झापा केन्द्रको आयोजनामा यही बैशाख २२ गते हुन लागेको कार्यक्रममा विकासानन्द आउन लागेका हुन् ।
आयोजक समितिले आज पत्रकार सम्मेलनको आयोजना गरेर प्रवचन कार्यक्रमबारे जानकारी दिएको हो ।
आयोजक समितिकी संयोजक मेहर मगरका अनुसार डोमालाल राजवंशी रंगशालामा हुने प्रवचन बिहान छ बजेदेखि ११ बजेसम्म हुनेछ ।
कार्यक्रममा योग ध्यान, साधना, सम्मोहन एवम आध्यात्मिक ज्ञान प्रवचन हुने सचिव विजय बरालले जानकारी दिए ।
सात लाख रुपैयाँ खर्च अनुमान गरिएको कार्यक्रममा झापासहित मोरङ, सुनसरी, इलाम, पाँचथर, ताप्लेजुङबाट प्रवचन सुन्न अनुयायीहरु आउने बरालले बताए ।
संघीय संसदकी उपसभामुख इन्दिरा रानाले उद्घाटन गर्ने कार्यक्रम अवधिभर १० हजार बढी सहभागी हुने बताइएको छ ।