बिर्तामोड, चैत २५ । झापाका बक्सिङ खेलाडी सुरेन्द्र राईले वीर गणेशमान सिंह राष्ट्रिय बक्सिङ प्रतियोगितामा स्वर्ण पदक जितेका छन् ।
आज लैनचौरस्थित राष्ट्रिय टेबलटेनिस प्रशिक्षण केन्द्रको हलमा भएको प्रतियोगितामा राईले पुरुष ५७ केजीमा बागमती प्रदेशका शुलभ मालीलाई हराउँदै प्रथम भएका हुन् ।
कोसी प्रदेशको प्रतिनिधित्व गर्दै प्रतियोगितामा सहभागी राईले जितसँगै नगद २५ हजार रुपैयाँ पाएको बक्सिङ प्रशिक्षक डम्बर लिम्बूले जानकारी दिए ।
त्यस्तै, महिला ७५ केजीमा झापाकी त्रिसा जवेगू फाइनलमा एपिएफकी सरस्वती राना मगरसँग पराजित भइन् । शारीरिक अस्वस्थ रहेकी जवेगूले दोस्रो स्थानमा चित्त बुझाउनु पर्यो ।
कोसी प्रदेशबाट खेलेका भोजपुरका प्रशान्त दाहाल पनि दोस्रो स्थानमै सीमित भए । उनी पुरुष ७१ केजीमा सुदूरपश्चिमकम भरत चन्दसँग पराजित भए ।
यसैबीच, पुरुष ५१ केजीमा कोसी प्रदेश पाँचथरका फुङलाङ काम्बाङ र झापाकी सुस्मिता श्रेष्ठ तेस्रो भए ।
प्रतियोगितामा दोस्रो भएकी जवेगू र दाहालले नगद १५ हजार पाए भने तेस्रो भएका काम्बाङ र श्रेष्ठले नगद साढे ७ हजार पुरस्कार पाएको लिम्बूले बताए ।
गणेशमान सिंह स्मृति राष्ट्रिय बक्सिङ प्रतियोगिताका लागि झापाबाट मात्रै सातजना खेलाडी छनोट भएका थिए ।
कोसीको प्रतिनिधित्व गर्ने छजना महिला मुक्केबाजमध्ये झापाबाट सुस्मिता श्रेष्ठ (५० केजी), सुस्मिता राई (५४ केजी), नरिका राई (५७ केजी), सुस्मिता सुब्बा (६० केजी), त्रिसा जवेगू (७५ केजी) थिए ।
त्यस्तै, धनकुटाकी शर्मिला आले मगर (६६ केजी) राष्ट्रिय प्रतियोगिताका लागि कोसी प्रदेशबाट छनोट भएकी थिइन् ।
त्यस्तै, पुरुषतर्फ झापाबाट दुईजना सुरेन्द्र राई (५७ केजी) र इसकजनक शाही (९२ केजी) छनोट भएका थिए ।
पाँचथरबाट फुङलाङ काम्बाङ (५१ केजी), उदयपुरबाट बलबहादुर पुन मगर (६३.५ केजी), भोजपुरबाट प्रशान्त दाहाल (७१ केजी) र सुनसरीबाट सनम गुरुङ (८० केजी) छनोट भएका थिए ।
प्रतियोगितामा सात प्रदेश, पुलिस र एपिएफबाट १०८ खेलाडी सहभागी थिए । पुरुष-महिलामा ६–६ तौल समावेश थिए । हरेक स्पर्धाका विजेताले २५ हजार, दोस्रोले १५ हजार र तेस्रोले साढे ७ हजार नगद पुरस्कार पाए ।