२०८२ बैशाख २८ आइतबार
Jhapa Today
Adv top
Adv below_nav

एनएसजेएफ झापाको अध्यक्षमा मुखिया निर्विरोध


बिर्तामोड, बैशाख १० । नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेएफ) झापाको अध्यक्षमा झापाका अग्रज पत्रकार इन्द्रजीत मुखिया निर्विरोध निर्वाचित भएका छन् ।

बिर्तामोडमा भएको मञ्चको जिल्ला समन्वय शाखाको तेस्रो अधिवेशनले पत्रकार मुखियाको अध्यक्षतामा सर्वसम्मत रुपमा नयाँ कार्यसमिति चयन गरेको हो ।

नेपाल टेलिभिजनका झापा सम्वाददाता मुखिया दुई दशकदेखि झापाको पत्रकारितामा सक्रिय छन् । आँगन एफएमका प्रबन्ध निर्देशक समेत रहेका मुखियाको नेतृत्वमा आगामी तीन वर्षे कार्यकालका लागि खेलकुद पत्रकार मञ्चको नेतृत्व छानिएको हो ।

यसअघि पत्रकार हिमाल खरेलको नेतृत्वमा रहेको खेलकुद पत्रकार मञ्चले जिल्लामा आफ्नो उपस्थिति र भूमिकालाई निकै प्रभावकारी बनाएको थियो ।

झापामा आयोजना गरिएका सानाठुला प्रतियोगितामा खेलकुद पत्रकार मञ्चको समन्वय र सहभागिता अनिवार्य भएको थियो ।

मञ्चको उपाध्यक्षमा प्रेम आचार्य र सचिवमा चिरञ्जीवी घिमिरे छन् । ब्लाष्टकर्मी आचार्य झापाका पुराना पत्रकार हुन् । घिमिरे नयाँ पत्रिका दैनिकमा आबद्ध छन् ।

सहसचिव र कोषाध्यक्षमा क्रमशः भूमिका सुब्बा र प्रकाश बानियाँलाई चयन गरिएको छ । सदस्यहरुमा रोहित काफ्ले, तीर्थ तिम्सिना, विष्णु श्रेष्ठ, तिलक योञ्जन, नारायण अर्याल र आयुष निरौला छन् ।

भगीरथ आले मामा नेतृत्वको निर्वाचन समितिले निर्वाचित पदाधिकारी तथा सदस्यको नाम घोषणा गरेको हो । मञ्चले खेलकुद विधामा पत्रकारिता गर्दै आएका झापाली सञ्चारकर्मीलाई प्रशिक्षण प्रदान गर्नुका साथै स्पोटर्स अवार्ड कार्यक्रम गर्दै आएको छ ।

खेल क्षेत्रको सर्वाधिक लोकप्रिय र धनराशि पुरस्कारसहितको स्पोटर्स अवार्डमार्फत पदक प्राप्त खेलाडी तथा अफिसियललाई मञ्चले सम्मान गर्दै आएको छ ।

मञ्च झापाले यसअघि चारवटा संस्करणको झापा स्पोटर्स अवार्ड कार्यक्रम सम्पन्न गरिसकेको छ । पाँचौँ झापा स्पोटर्स अवार्ड नवनिर्वाचित समितिले मिति घोषणा गरेर आयोजना गर्नेछ ।

यसअघि कोसी प्रदेश खेलकुद बोर्ड उपाध्यक्ष जिना कार्की मञ्चको अधिवेशनको उद्घाटन गरेकी थिइन् । कार्यक्रममा जिल्ला खेलकुद विकास समितिका अध्यक्ष भेषराज भण्डारी, नेपाल खेलकुद पत्रकार मञ्चका केन्द्रीय महासचिव प्रज्वल ओली, भद्रपुर झापा गोल्डकपका अध्यक्ष दिपेश ढकाल, झापा जिल्ला उसु संघका अध्यक्ष राजेन्द्र घिमिरे, नेपाल पत्रकार महासंघ झापाका अध्यक्ष एकराज गिरी लगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।

मञ्चका सचिव अर्जुन राजवंशीले सञ्चालन गरेको कार्यक्रममा उपाध्यक्ष अमित खम्बूले स्वागत गरेका थिए । बन्द सत्रमा कोषाध्यक्ष राजु पौडेलले आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए ।

Adv footer