२०८२ भदौ २९ आइतबार
Jhapa Today
Adv top

गौरीलाल श्रेष्ठ स्मृति जिल्लास्तरीय करातेमा बिर्तामोड प्रथम


बिर्तामोड, बैशाख २४ । प्रथम गौरीलाल श्रेष्ठ स्मृति जिल्लास्तरीय कराते प्रतियोगितामा बिर्तामोड प्रथम भएको छ ।

प्रतियोगितामा अर्जुनधारा दोस्रो र शिवसताक्षी तेस्रो भए । बिर्तामोडले ४ स्वर्ण, ३ रजत र ५ कास्य जित्यो । त्यस्तै, अर्जुनधाराले ४ स्वर्ण, २ रजत र ४ कास्य तथा शिवसताक्षीले ३ स्वर्ण, २ रजत र ५ कास्य पदक जित्यो ।

३० केजी तौल समूहदेखि माथि ५५ं केजी तौल समूहसम्मका महिला तथा पुरुषहरुको झापा जिल्लाव्यापी अन्तरपालिका प्रतियोगिताका विजेतालाई मेडल प्रदान गरिएको थियो ।

कार्यक्रमकी प्रमुख अतिथि कोसी प्रदेश खेलकुद विकास बोर्डकी उपाध्यक्ष जिना कार्की, विशेष अतिथि झापा जिल्ला खेलकुद विकास समितिका अध्यक्ष प्रशान्त भण्डारीलगायतले विजेता खेलाडीलाई मेडल लगाइदिएका थिए ।

कनकाई नगर इलुवाबारी कराते डोजो सुरुङ्गाको आयोजना तथा झापा जिल्ला कराते महासंघको समन्वय तथा प्राविधिक सहयोगमा भएको प्रतियोगितामा झापा क्षेत्र नम्बर ४ का २०–२५ केजी तौल समूहको जुनियर प्रतियोगिता पनि भएको थियो ।

झापा जिल्लामा करातेका उत्कृष्ट खेलाडी उत्पादन गर्ने सोचका साथ वडास्तर–पालिकास्तरदेखि नै प्रतिस्पर्धा गरी प्रत्येक तौल समूहमा प्रत्येक पालिकाबाट १–१ जना कराते खेलाडी छनौट गर्ने उद्देश्यले प्रतियोगिताको आयोजना गरिएको झापा जिल्ला कराते महासंघका अध्यक्ष जगन दुर्वासा कार्कीले बताए ।

कन्काई नगर इलुवाबारी कराते डोजो सुरुङ्गाका अध्यक्ष तथा झापा जिल्ला कराते महासंघका जिल्ला सदस्य राजेन्द्र लिम्बुको अध्यक्षतामा भएको प्रतियोगितामा जिल्लाका २०० जना खेलाडी सहभागी थिए ।

Adv footer