बिर्तामोड, जेठ १ । झापाको बिर्तामोडमा जारी तेस्रो न्यु स्टार अन्तर्राष्ट्रिय गोल्डकप फुटबल प्रतियोगितामा आज (सोमबार) पाहुना टोली युकेएफसी दार्जिलिङ र इलामको रेडहर्स एफसीले प्रतिस्पर्धा गर्दैछन् ।
बिर्तामोड-७ खोपबाडीस्थित सुन्दरडाँडा खेलमैदानमा हिजो भएको दोस्रो क्वार्टर फाइनल खेलमा पाहुना टोली भुटानको डिएसएलाई १–० गोलअन्तरले पराजित गर्दै सुनसरीको बराहक्षेत्र ११ सेमिफाइनलमा प्रवेश गरेको छ ।
त्यस्तै, उद्घाटन खेलमा आयोजक न्यु स्टार क्लबले ताप्लेजुङ जिल्ला फुटबल क्लबलाई २–१ गोलले पराजित गरेर अन्तिम चारमा स्थान सुरक्षित गरिसकेको छ ।
गोल्डकपको विजेताले नगद २ लाख २ हजार २२२ रुपैयाँसहित ट्रफी पाउनेछ । क्लबका अध्यक्ष कृष्णप्रसाद लिम्बूका अनुसार गोल्डकपमा नेपाल, भारत र भुटानका ८ टिमको सहभागिता रहेको छ ।
गोल्डकपको उपविजेताले नगद १ लाख १ हजार र ट्रफीमा चित्त बुझाउनु पर्नेछ । त्यस्तै, उत्कृष्ट गोलरक्षक, सर्वाधिक गोलकर्ता, गोल्डकपकै उत्कृष्ट खेलाडी र उदीयमान खेलाडीले जनही ५–५ हजार पाउने अध्यक्ष लिम्बूले जानकारी दिए ।
प्रत्येक खेलको म्यान अफ दि म्याचले नगद ३ हजारसहित ट्रफी पाउँदा फाइनल खेलको म्यान अफ दी म्याचले नगद ५ हजार ट्रफी पाउनेछ ।
प्रतियोगिताको अन्तिम क्वार्टरफाइनल खेलमा भोलि जनसहयोग युथ क्लब मोरङले सप्तरीको नव बुद्ध युथ क्लबसँग प्रतिस्पर्धा गर्नेछ । गोल्डकपको फाइनल खेल जेठ ६ गते हुनेछ ।