बिर्तामोड, जेठ १ । इलामको रेडहर्स फुटबल क्लब तेस्रो न्यु स्टार अन्तर्राष्ट्रिय गोल्डकप फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ ।
भारत दार्जिलिङको पाहुना टोली युके फुटबल क्लबलाई पहिलो चरणमै पराजित गर्दै रेडहर्स सेमिफाइनलमा प्रवेश गरेको हो ।
बिर्तामोड ७ खोपबाडीस्थित सुन्दरडाँडा खेलमैदानमा आज भएको तेस्रो क्वार्टर फाइनल खेलमा इलामले युके एफसीमाथि २–० गोलअन्तरमा जित निकालेको हो ।
इलामले पहिलो हाफ र दोस्रो हाफमा समान १–१ गोल गरेको हो । इलामका लागि पहिलो गोल विदेशी खेलाडीले गरेका हुन् ।
खेलको पाँचौँ मिनेटमै नेपोलियनले उत्कृष्ट गोल गर्दै अग्रता दिलाएका हुन् । युकेएफसीका गोलकिपर विनेम प्रधान अघि बढेको बेला नेपोलियनले सिधै रित्तो पोस्टमा गोल गरे ।
नेपोलियनको प्रहार करिब ३० यार्डको दूरीबाट थियो । इलामका लागि दोस्रो गोल निपेश श्रेष्ठले गरेका हुन् । खेलको ५९औँ मिनेटमा निपेशले गोल गर्दै इलामको अग्रता दोब्बर बनाए ।
युके एफसीले खेल प्रदर्शन राम्रै गरे पनि आक्रमण बुन्न सकेन । केही आक्रमण इलामका गोलकिपर विवेक मगरले बचाएका थिए ।
खेलको म्यान अफ दि म्याच इलामका निपेश श्रेष्ठ बने । उनलाई आजका प्रमुख अतिथि बिर्तामोड ७ का वडा अध्यक्ष कृष्ण खरेल, वडा नम्बर ६ का वडा अध्यक्ष सूर्य कन्दङवा, सुन्दर निचाझोडा सामुदायिक वनका अध्यक्ष बद्री प्याकुरेलबाट नगद ३ हजार र ट्रफी प्रदान गरियो ।
यसअघि आयोजक न्यु स्टार क्लब र बराहक्षेत्र ११ सुनसरी सेमिफाइनलमा प्रवेश गरिसकेका छन् ।
भोलि (मंगलबार) प्रतियोगिताको अन्तिम क्वार्टर फाइनल खेलमा जनसहयोग युथ क्लब मोरङले सप्तरीको नव बुद्ध युथ क्लबसँग प्रतिस्पर्धा गर्नेछ ।
प्रतियोगिताको उत्कृष्ट गोलरक्षक, सर्वाधिक गोलकर्ता, गोल्डकपकै उत्कृष्ट खेलाडी र उदीयमान खेलाडीले जनही ५–५ हजार पाउने छन् ।
त्यस्तै, प्रत्येक खेलको म्यान अफ दि म्याचले नगद ३ हजारसहित ट्रफी पाउँदा फाइनल खेलको म्यान अफ दि म्याचले नगद ५ हजार ट्रफी पाउनेछ ।
गोल्डकपमा नेपाल, भारत र भुटानका ८ टिमको सहभागिता रहेको छ । गोल्डकपको विजेताले नगद २ लाख २ हजार २२२ रुपैयाँसहित ट्रफी पाउने छ । उपविजेताले नगद १ लाख १ हजार र ट्रफीमा चित्त बुझाउनु पर्नेछ । गोल्डकपको फाइनल खेल जेठ ६ गते हुनेछ ।