२०८२ बैशाख २६ शुक्रबार
Jhapa Today
Adv top
Adv below_nav

कठिन जित निकाल्दै आयोजक न्यु स्टार फाइनलमा


बिर्तामोड, जेठ ३ । झापाको बिर्तामोडमा जारी तेस्रो न्यु स्टार अन्तर्राष्ट्रिय गोल्डकपको पहिलो सेमिफाइनलबाट आयोजक न्यु स्टार क्लबले कठिन जित निकाल्दै फाइनलमा प्रवेश गरेकोे छ ।

बिर्तामोड ७ खोपबाडीस्थित सुन्दरडाँडा खेलमैदानमा आज भएको खेलमा इलामको रेडहर्स एफसीलाई १–० गोलले पराजित गर्दै आयोजक उपाधि नजिक रहेको हो ।

उपाधिको दाबेदार मानिएको इलामलाई रोक्न विश्वास लावतीको एक गोल नै निर्णायक बन्यो । दुवै टिमबाट विदेशी खेलाडी मैदानमा उतारिए पनि आकर्षक खेल भने पस्कन सकेनन् ।

दुवै टोलीले पाएको अवसर खेर फालेका थिए । अन्ततः आयोजकका परिवर्तित खेलाडी विश्वास लिम्बूले गोलको खाता खोल्न सफल भए ।

आयोजकका सोना लिम्बूको स्थानमा मैदान प्रवेश गरेका विश्वासले खेलको ५७ औँ मिनेटमा विपक्षी गोलकिपर बिट भएको मौकामा गोल गरेका हुन् ।

दायाँ क्षेत्रबाट रोहन कार्कीको ओभर ल्यापिङमा पाएको ‘लो’ पासमा विश्वासले निर्णायक गोल गरे । उनी म्यान अफ दि म्याच हुँदै नगद ३ हजार पाउन सफल भए ।

म्यान अफ दि म्याच उनलाई बिर्तामोड वडा नम्बर ७ का वडा अध्यक्ष कृष्ण खरेल, सुन्दर निचाझोडा सामुदायिक वन उपभोक्ता समिति अध्यक्ष बद्री प्याकुरेल, आयोजक अध्यक्ष कृष्ण लिम्बूले नगद र ट्रफी प्रदान गरे ।

जितसँगै आयोजकले कम्तिमा १ लाख रुपैयाँ सुरक्षित गरेको छ । भोलि बिहीबार सुनसरीको बराहक्षेत्र ११ ले मोरङको जनसहयोग युथ क्लबसँग फाइनल प्रवेशका लागि प्रतिस्पर्धा गर्नेछ ।

प्रतियोगिताको उत्कृष्ट गोलरक्षक, सर्वाधिक गोलकर्ता, गोल्डकपकै उत्कृष्ट खेलाडी र उदीयमान खेलाडीले जनही ५–५ हजार पाउने छन् ।

त्यस्तै, प्रत्येक खेलको म्यान अफ दि म्याचले नगद ३ हजारसहित ट्रफी पाउँदा फाइनल खेलको म्यान अफ दि म्याचले नगद ५ हजार ट्रफी पाउनेछ ।

गोल्डकपमा नेपाल, भारत र भुटानका ८ टिमको सहभागिता रहेको छ । गोल्डकपको विजेताले नगद २ लाख २ हजार २२२ रुपैयाँसहित ट्रफी पाउने छ ।

उपविजेताले नगद १ लाख १ हजार र ट्रफीमा चित्त बुझाउनु पर्नेछ । गोल्डकपको फाइनल खेल जेठ ६ गते हुनेछ ।

Adv footer