
बिर्तामोड, जेठ ४ । बिर्तामोड नगरपालिका नगर खेलकुद विकास समितिले आयोजना गरेको प्रथम कर्पोरेट सुपर सिक्स क्रकेट प्रतियोगितामा पूर्वराष्ट्रिय खेलाडी मेहबुब आलमले खेल्ने भएका छन् ।

आज बिर्तामोडमा आयोजित पत्रकार सम्मेलनमा आलमले प्रतियोगितामा सहभागिता जनाउने जानकारी दिइएको हो । आलमले बिटिएम मन्त्र थकाली टिमको प्रतिनिधित्व गर्ने टिम कप्तान सुरज खड्काले जानकारी दिए ।


बिटिएम मन्त्र थकालीले अन्य खेलाडीको नाम समेत सार्वजनिक गरेको छ । थकालीबाट आलमसहित कप्तान खड्का, नृत्य खडोलिया, अभ्यास तिम्सिना, रुपनारायण श्रेष्ठ, फिर्दोस अन्सारी, दिपक काफ्ले र उमेश खरेल मैदान उत्रिने छन् ।

यसैबीच, बिटिएम मन्त्र थकालीले आलमको जर्सी पनि सार्वजनिक गरेको छ । आलमले ११ नम्बरको जर्सी लगाएर कर्पोरेट सुपर सिक्स क्रकेट खेल्ने छन् ।


झापाको बिर्तामोडमा यही जेठ ६ गतेदेखि प्रथम कर्पोरेट सुपर सिक्स क्रिकेट प्रतियोगिता हुँदैछ । बिर्तामोड नगरपालिका नगर खेलकुद विकास समितिको आयोजनामा बिर्तामोडको डोमालाल राजवंशी रंगशालामा प्रतियोगिता हुनेछ ।

प्रतियोगितामा २० वटा टिमले भाग लिने जनाइएको छ । प्रतियोगितामा बिर्तामोड नगरभित्रका व्यावसायिक तथा सामाजिक संस्था सहभागी हुने छन् ।

प्रतियोगिताको विजेताले नगद एक लाख रुपैयाँ, ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ भने उपविजेता टिमले नगद पचास हजार रुपैयाँ, ट्रफी, मेडल र प्रमाणपत्र पाउने छन् ।
त्यस्तै, खेलको म्यान अफ द टुर्नामेन्टलाई १० हजार रुपैयाँ, बेस्ट ब्याट्सम्यान र बेस्ट बलरलाई ५१०० रुपैयाँ प्रदान गरिनेछ ।
प्रत्येक खेलको म्यान अफ द म्याचले २१०० रुपैयाँ पाउने छन् । प्रतियोगिताको फाइनल खेल रात्रिकालीन हुनेछ ।