२०८२ बैशाख २६ शुक्रबार
Jhapa Today
Adv top
Adv below_nav

‘निर्णय भएका प्रतियोगिताहरु असार १५ सम्म हुन्छन्’ – मन्त्री राजभण्डारी


कोशी प्रदेश मुख्य मन्त्री हिक्मत कार्की (दायाँ) का साथ सामाजिक विकास मन्त्री बुद्धिकुमार राजभण्डारी र हंशराज वाग्ले (बायाँ) । फाइल तस्बिर

बिर्तामोड, जेठ ५ । कोशी प्रदेशका सामाजिक विकासमन्त्री बुद्धिकुमार राजभण्डारीले खेलकुद विकास बोर्डका सदस्य सचिव हंशराज वाग्लेलाई बर्खास्त गरिएपछि अन्योलमा रहेका प्रतियोगिताहरु असार १५ गतेभित्र सम्पन्न हुने बताएका छन् ।

हिजो बुधबार कोशी प्रदेश सरकारको मन्त्रिपरिषद्को बैठकले वाग्लेलाई बर्खास्त गर्ने निर्णय गरेको थियो । सामाजिक विकास मन्त्रालयसँग समन्वय नगरी काम गरेको भन्दै वाग्लेलाई बर्खास्त गरिएको सरकारको भनाइ छ ।

वाग्लेलाई दुईपटक स्पष्टीकरण सोधे पनि चित्त बुझ्दो जवाफ नदिएका कारण सामाजिक विकास मन्त्रालयको सिफारिसमा बर्खास्त गर्ने निर्णय गरिएको थियो ।

गत बैशाख १४ गतेदेखि १६ गतेसम्म झापाको दमकमा आयोजित प्रथम मुख्यमन्त्री कप राष्ट्रिय पुरुष भलिबल प्रतियोगिताको ब्यानरमा आयोजकको रुपमा कोशी प्रदेशको नाम उल्लेख नभएको भन्दै उनलाई मन्त्रालयले दुईपटक स्पष्टीकरण सोधेको थियो ।

‘असार १५ सम्म प्रतियोगिता हुन्छन्

मन्त्री राजभण्डारीले यसअघि निर्णय भएका सबै प्रतियोगिताहरुको मिति हेरफेर गरेर भए पनि सम्पन्न गर्ने जानकारी दिए । ‘सदस्य सचिवको बर्खास्तीपछि हुन बाँकी खेलहरु जेठ मसान्तदेखि असार १५ सम्ममा गर्नसक्ने खेलहरु हुन्छन्’, मन्त्री राजभण्डारीले भने ।

उनले चाँडै नयाँ सदस्य सचिवको नियुक्ति गर्ने मन्त्रालयको तयारी रहेको जानकारी दिए । वाग्लेले राजनीतिक प्रतिशोध साँध्न बर्खास्त गरिएको आरोपको उनले खण्डन गरे । ‘प्रतियोगिता गर्नै नसक्ने अवस्था भए रोक्नुपर्थ्यो’, मन्त्री राजभण्डारीले भने, ‘कि अवस्थाबारे जानकारी गराएर मेरो आदेश माग्नु पर्थ्यो, सल्लाह गर्नु पर्थ्यो।’

वाग्लेकै कमिकमजोरीका कारण बर्खास्त गरिएको उनले बताए । ‘राजीनितक प्रतिशोधबाट हटाइएको भए अन्य पदाधिकारीलाई पनि बर्खास्त गरिन्थ्यो होला नि’, मन्त्री राजभण्डारीको प्रश्न थियो, ‘वाग्लजीकै गल्तीका कारण सरकारले हटाएको हो ।’

‘राजनितिक प्रतिशोधका आधारमा हटाइयो


सदस्य सचिव वाग्लेले राजनीतिक प्रतिशोधका आधारमा आफूलाई हटाइएको बताए । आफूले राम्रो गरेको र मन्त्रीको बदमासीका कारण बर्खास्त गरिएको जानकारी दिए ।

पटकपटक स्पष्टीकरण सोध्दै मन्त्रीले कानुनी राज्यमा हुकुमी शैलीमा निर्णय गरिएको उनले दाबी गरेका छन् । ‘हुँदै नभएको आरोपमा, मन्त्री आफू स्वयम् उपस्थित हुन नसक्ने अनि मलाई कारबाही गर्ने’, वाग्लेले प्रश्न गरे ।

विषम परिस्थितिमा पनि आफूले राष्ट्रिय पुरुष भलिबल प्रतियोगिता सम्पन्न गरेको उनले जिकिर गरे । प्रतियोगिता उद्घाटनमा मन्त्री आउने बुझेर प्रदेशको नाम कोशीको विरोधमा रहेका पहिचानवादीहरु कालो झण्डासहित प्रदर्शनमा उत्रिएका थिए ।

वाग्ले तत्कालीन मुख्यमन्त्री राजेन्द्र राईको कार्यकालमा नेकपा एकीकृत समाजवादीको कोटामा सदस्यसचिव नियुक्त भएका हुन् । सामाजिक विकासमन्त्री राजभण्डारी नेकपा एमालेका हुन् ।

प्रतियोगिता नभए दुई करोड रुपैयाँ फ्रिज हुने

समयमै प्रतियोगिताहरु नभए जेठ मसान्तसम्म हुनेगरी यसअघि निर्णय भएका एक दर्जन प्रतियोगिताका लागि विनियोजित रकम फ्रिज हुनेछ । ती प्रतियोगिताहरुका लागि झन्डै २ करोड रुपैयाँ विनियोजना गरिएको छ ।

खेलकुद विकास बोर्डको गत चैत १६ गते प्रदेशका विभिन्न जिल्लामा खेलकुदका प्रतियोगिता आयोजना गर्ने र प्रतियोगिताका लागि २ करोड बजेट छुट्याएको थियो । प्रदेश सरकारले बोर्डको बैंक खाता रोक्का गर्दै सदस्य सचिव वाग्लेलाई हटाएपछि जेठ मसान्तभित्र गरिसक्नुपर्ने उक्त प्रतियोगिताहरु अनिश्चित बनेका छन् ।

बोर्डले जेठ १ गतेदेखि ७ गतेसम्म ओखलढुंगामा मुख्यमन्त्रीकप पुरुष फुटबल प्रतियोगिता, जेठ पहिलो हप्ता विराटनगरमा सम्पन्न गर्नुपर्ने महिला सेल्फ डिफेन्स तालिम तथा योगा प्रशिक्षण कार्यक्रम गर्ने निर्णय गरेको थियो । बोर्डले फुटबलका लागि ३० लाख र महिला तालिमका लागि १० लाख रुपैयाँ छुट्याएको थियो ।

बोर्डले जेठ ९ देखि ११ गतेसम्म भोजपुरमा प्रदेशस्तरीय आइटिएफ तेक्वान्दो प्रतियोगिता, जेठ १४ देखि २० गतेसम्म विराटनगरमा राष्ट्रिय सफ्ट टेनिस प्रतियोगिता गर्ने निर्णय गरेको थियो ।

जेठ १२ देखि १३ गतेसम्म बिर्तामोड झापामा शारिरीक सुगठन प्रतियोगिता, जेठ १८ गतेदेखि २१ गतेसम्म इटहरीमा मुख्यमन्त्रीकप महिला रात्रिकालीन भलिबल प्रतियोगिता गर्ने बोर्डको निर्णय थियो ।

बोर्डले महिला भलिबल प्रतियोगिताका लागि २५ लाख, शारिरीक सुगठन र तेक्वान्दोको लागि १५–१५ लाख र टेनिसको लागि २५ लाख रुपैयाँ बजेट छुट्याएको छ ।

त्यस्तै, जेठ १७ देखि १९ गतेसम्म इटहरीमा राष्ट्रिय पौडी प्रतियोगिता, जेठ २२ देखि २५ गतेसम्म उदयपुरमा प्रदेशस्तरीय बक्सिङ प्रतियोगिता, जेठ दोस्रो हप्ता मोरङ र सुनसरीमा अपांगता भएका व्यक्तिहरुका लागि पारा ओलम्पिक प्रतियोगिता गर्ने निर्णय गरिएको थियो ।

बोर्डले पौडी र बक्सिङगका लागि १५–१५ लाख र पारा ओलम्पिकका लागि २५ लाख रुपैयाँ बजेट छुट्याएको थियो ।

Adv footer