
बिर्तामोड, जेठ ७ । मोरङको जनसहयोग युवा क्लबलाई रोक्दै झापाको बिर्तामोडमा आयोजित तेस्रो न्यु स्टार अन्तर्राष्ट्रिय गोल्डकपको उपाधि आयोजकले चुमेको छ ।
बिर्तामोड ७ खोपबाडीस्थित सुन्दरडाँडा खेलमैदानमा भएको फाइनल भिडन्तमा मोरङलाई २–० गोलले पराजित गर्दै आयोजक च्याम्पियन बनेको हो ।
८० मिनेटको खेलमा पहिलो हाफ दुवै टोलीले गोलरहित बराबरी खेलेका थिए । तर, दोस्रो हाफमा आयोजकले २ गोल गर्यो ।
दोस्रो हाफको २१औँ मिनेटमा मोरङको पेनाल्टी एरिया नजिकै आयोजकका बबिन बोहोरामाथि वान भर्सेज वानमा फाउल भएपछि मोरङका सुजन चौधरी रातो कार्ड पाउँदै मैदान बाहरिए ।
त्यही फ्रिकिकमा आयोजकका रोमन भुजेलले आकर्षक गोल गरेर अग्रता बनाएका थिए । १० खेलाडीमा समेटिए पनि मोरङले खेलमा फर्किने प्रयास गरेको थियो ।
तर, हावाहुरी र वर्षाका कारण सोचेजस्तो खेल प्रदर्शन गर्न भने सकेन । केही घम्साघम्सी भएको खेलमा आयोजकका बबिन बोहोराले थप गोल गर्दै अग्रता दोब्बर बनाए ।
दोस्रो हाफको २५औँ मिनेटमा मैदानको बायाँ भागबाट मोरङका गोलकिपरलाई विट गर्दै बबिनले गरेको प्रहार गोलमा परिणत भएको थियो ।
आयोजकका बबिन बोहोरा सर्वाधिक गोलकर्ता घोषित भए । यस्तै, खेलको उत्कृष्ट खेलाडी आयोजकका सनम राई घोषित भए । उनले नगद १० हजार पाए ।
फाइनल खेलको म्यान अफ द म्याच रोमन भुजेल र उदीयमान खेलाडी करण लिम्बू बने । उनीहरुले जनही नगद ५–५ हजार र ट्रफी पाए ।
आयोजककै उत्कृष्ट गोलरक्षक सञ्जय गुरुङ्ग, उत्कृष्ट फरवार्ड विश्वास लावती र उत्कृष्ट रक्षकमा सनम लिम्बू घोषित भए । उनीहरुले जनही ५–५ हजार पाए ।
फाइनल विजेता आयोजकले नगद २ लाख २ हजार र आकर्षक ट्रफी पायो भने उपविजेता मोरङले नगद १ लाख १ हजार र ट्रफी पाएको छ । गोल्डकपमा नेपाल, भारत र भुटानका ८ टिमको सहभागिता रहेको थियो । कार्यक्रममा विभिन्न खेलाडी र सामाजिक व्यक्तित्वहरुलाई सम्मान गरिएको थियो ।