२०८२ बैशाख २६ शुक्रबार
Jhapa Today
Adv top
Adv below_nav

मिस्टर कञ्चनजंघा बडिबिल्डिङ च्याम्पियनसिप जेठ अन्तिममा हुने


बिर्तामोड, जेठ ८ । कोशी प्रदेशस्तरीय दोस्रो मिस्टर कञ्चनजंघा बडिबिल्डिङ च्याम्पियनसिप प्रतियोगिता दुई साता पछि धकेलिएको छ ।

यसअघि जेठ १२ र १३ गतेका लागि बिर्तामोडमा निर्धारित प्रतियोगिता १३ दिनपछि सरेको हो । प्रतियोगिता जेठ २५ र २६ गतेका लागि सारिएको प्रतियोगिता आयोजक समितिका अध्यक्ष अर्जुनकुमार मैनालीले बताए ।

कोशी प्रदेश सरकार र खेलकुद विकास बोर्डका सदस्यसचिवबीच भएको आन्तरिक विवादका कारण प्रतियोगिता सारिएको पत्रकार सम्मेलन गरेर जानकारी दिइएको हो ।

प्रतियोगिताका लागि बोर्डले १५ लाख रुपैयाँ विनियोजन गरेको छ । चैत १६ गतेको बोर्डको बैठकले सो बजेट उपलब्ध गराउने निर्णय गरेको थियो ।

प्रतियोगिता संयोजक तथा आयोजक बडी ग्यारेज बिर्तामोडका सञ्चालक राम दाहालका अनुसार जेठ २५ गते बिहीबार दिउँसो १२ बजेदेखि बिर्तामोडको अतिथि सदनमा प्रिजजिङ र २६ गते दिउँसो १२ बजेदेखि सिटी सेन्टरमा फाइनल राउन्ड हुनेछ ।

बडी ग्यारेजले दुई वर्षअघि कोशी प्रदेशस्तरीय फस्ट मिस्टर कन्चनजंघा बडिबिल्डिङ प्रतियोगिता गरेको थियो ।
दोस्रो संस्करणको प्रतियोगितामा ५५, ६०, ६५, ७० र ७५ केजीभन्दा माथि तौल समूहमा प्रतिस्पर्धा हुने प्रतियोगिताका अर्का संयोजक दिपेन चौधरीले बताए ।

प्रतियोगितामा प्रथम पुरस्कार ३ लाख ११ हजार १ सय ११ रुपैयाँ, द्वितीय पुरस्कार २ लाख ५० हजार रुपैयाँ, तृतीय पुरस्कार १ लाख ५० हजार रुपैयाँ, चौथो पुरस्कार १ लाख रुपैयाँ र पाँचौँ पुरस्कार ७५ हजार रुपैयाँ रहेको सचिव राजेश गिरीले जानकारी दिए ।

साथै, हरेक तौल समूहमा द्वितीय र तृतीय हुने खेलाडीहरुलाई क्रमशः १० हजार र ५ हजार रुपैयाँ, मेडल तथा ट्रफी प्रदान गरिनेछ ।

काठमाडौँ उपत्यका बाहिरको सर्वाधिक धनराशि र सुविधा भएको प्रतियोगिता बिर्तामोडमा हुन लागेको संयोजक दाहालले जानकारी दिए । प्रतियोगितामा सहभागी हुने खेलाडीहरुका लागि यातायात र खानेबस्नेको व्यवस्था मिलाइएको उनको भनाइ छ ।

Adv footer