२०८१ कार्तिक २० मंगलबार
Jhapa Today
Adv top
Adv below_nav

मिस्टर कञ्चनजंघा बडिबिल्डिङ च्याम्पियनसिपको उपाधि चौधरीलाई


बिर्तामोड, जेठ २६ । दोस्रो मिस्टर कञ्चनजंघा बडिबिल्डिङ च्याम्पियनसिपको उपाधि दिलिपकुमार चौधरीले जितेका छन् ।

कोशी प्रदेश खेलकुद विकास बोर्डको मुख्य आयोजना तथा बडी ग्यारेज बिर्तामोडको संयोजनमा सम्पन्न च्याम्पियनसिपको शुक्रबार साँझ भएको प्रतिस्पर्धामा ६५ केजी तौल समूहका चौधरीले उपाधि हात पारेका हुन् ।

उपाधिसँगै उनले नगद ३ लाख ११ हजार १११ रुपैयाँ हात पारे । उनी डिएनपी फिटनेस गाइघाटबाट सहभागी भएका थिए ।

त्यस्तै, प्रतियोगितामा ७० केजी तौल समूहका सनम लिम्बू दोस्रो र ७० केजी माथि तौल समूहका सन्दिप गिरी तेस्रो भए । लिम्बू केज टोटल फिट्नेस इलाम र गिरी धरान फिट्नेसका हुन् ।

चौथोमा धर्मराज खापुङ भए । ५५ केजी तौल समूहका उनी उर्लाबारीका हुन् । ६० किलो तौल समूहका नेपाल अजय मल्लिक पाँचौँ भए । उनी नेपाल पुलिस क्लबका हुन् ।

लिम्बूले २ लाख ५० हजार, गिरीले १ लाख ५० हजार, खापुङले १ लाख र मल्लिकले ७५ हजार रुपैयाँका साथै मेडल, ट्रफी र प्रमाणपत्र प्राप्त गरे ।

तौल समूहअन्तर्गत ५५ किलौ तौल समूहमा धर्मराज खापुङ पहिलो, प्रवित राजवंशी दोस्रो र दिवश श्रेष्ठ तेश्रो भए । त्यस्तै, ६० किलो तौल समूहमा अजय मल्लिक पहिलो, विनोद कार्की दोस्रो र युवराज बस्नेत तेस्रो भए ।

६५ किलो तौल समूहमा दिलिपकुमार चौधरी पहिलो, हर्कबहादुर राई दोस्रो र ओशन कार्की तेस्रो भए । ७० किलो तौल समूहमा सनम लिम्बू पहिलो, मदनकुमार योङहाङ दोस्रो र सागर राई तेस्रो भए ।

७० किलो माथिको तौल समुहमा भने २ जना मात्रै सहभागी थिए । प्रिजजिङमा ३ जना सहभागी भए पनि एकजना खेलाडी कोशी प्रदेशबाहिरको भएकाले बाहिरिएका थिए । बाँकी रहेका २ जना मध्ये सन्दिप गिरी पहिलो र प्रसिद्ध भक्तराज तेस्रो भएका छन् ।

विजेताहरुलाई कोशी प्रदेश खेलकुद विकास बोर्डका सदस्य सचिव हंशराज वाग्ले, सहारा नेपाल साकोसका कार्यकारी प्रमुख महेन्द्रकुमार गिरी, झापा जिल्ला खेलकुद विकास समितिका अध्यक्ष प्रशान्त भण्डारी, प्रतियोगीताका अध्यक्ष अर्जुन मैनाली, कार्यक्रम संयोजक राम दाहाल लगायतले पुरस्कार प्रदान गरेका थिए ।

समूहगत रुपमा दोस्रो र तेस्रो हुने खेलाडीलाई पनि जनही १० हजार र ५ हजार रुपैंयाँ पुरस्कार प्रदान गरिएको थियो ।

प्रतियोगिता आयोजकले सोचेअनुरुप भव्य र सभ्य तरिकाले सम्पन्न भएको सचिव राजेश गिरीले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

*

*

Adv footer