२०८१ कार्तिक २० मंगलबार
Jhapa Today
Adv top
Adv below_nav

यु-२० रग्बी सेभेन्सको उपाधि कर्णाली र हेटौँडालाई


बिर्तामोड, जेठ २७ । २० वर्षमुनिको राष्ट्रिय रग्बी सेभेन्सको उपाधि कर्णाली रग्बी क्लब र हेटौँडा रगर्सले जितेका छन् ।

इलामको माई नगरपालिका-४ शुक्रबारे खेलमैदानमा सम्पन्न प्रतियोगितामा पुरुषतर्फ कर्णालीले १५-५ अन्तरले कटारी रग्बी क्लब र महिलातर्फ हेटौँडाले १४-५ ले हिमालयन टाइगर रग्बी क्लबलाई हराउँदै उपाधि जितेको हो ।

विजेता दुबै टोलीले नगद ५० हजारसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरे । उपविजेता बनेका टोलीले नगद ३० हजार, मेडल र प्रमाणपत्र प्राप्त गरे ।

प्रतियोगिताको विजेता तथा उपविजेतालाई माई नगरप्रमुख खम्बसिंह लिम्बू, नेपाल रग्बी संघका वरिष्ठ उपाध्यक्ष चेतनराज गिरी, महासचिव गोविन्द घिमिरे, उपाध्यक्ष किरण गिरी, केन्द्रीय सदस्य सन्तकुमार मेहता लगायतले पुरस्कार रकम प्रदान गरे ।

प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी पुरुषतर्फ कर्णालीका रोहन डंगोल र महिलातर्फ हेटौँडाकी पुष्पा खड्का घोषित भए । उनीहरुले जनही ५ हजार प्राप्त गरे । उदीयमान खेलाडी कटारीका नविन दलार्मी र विडिसा राई घोषित भए । उनीहरुले जनही २ हजार पाँच सय प्राप्त गरे ।

नेपाल रग्बी संघको आयोजनामा भएको प्रतियोगिता कोशी प्रदेश रग्बी संघ, जिल्ला रग्बी संघ इलाम र माई नगरपालिकाको सहजीकरण रहेको थियो ।

प्रतियोगितामा पुरूष र महिलातर्फ कोशी प्रदेशबाट कटारी रग्बी क्लब, मधेस प्रदेशबाट बर्दिबास रग्बी क्लब, बागमती प्रदेशबाट हेटौँडा रगर्स, कर्णाली प्रदेशबाट कर्णाली रग्बी क्लब र राष्ट्रिय क्लब हिमालयन टाइगर रग्बी सहभागी थिए ।

प्रतियोगिताबाट आगामी अगस्टमा नेपालमा हुने यु–२० एसिया रग्बी सेभेन्स प्रतियोगिताको लागि नेपाली टिम छनोट हुनेछ ।

समापन समारोह नेपाल रग्बी संघका वरिष्ठ उपाध्यक्ष चेतनराज गिरीको अध्यक्षता र प्रदेश खेलकुद विकास बोर्ड कोशीका सदस्य सचिव हंशराज वाग्लेको प्रमुख आतिथ्यतामा भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

*

*

Adv footer