२०८१ पुष ६ शनिबार
Jhapa Today
Adv top
Adv below_nav

धुलाबारी माविले गर्‍यो सेवा क्षेत्र सर्वेक्षण प्रतिवेदन सार्वजनिक


मेचीनगर, जेठ २८ । कोशी प्रदेशमा दोस्रो धेरै विद्यार्थी संख्या भएको धुलाबारी नमुना माध्यमिक विद्यालयले सेवा क्षेत्र सर्वेक्षण प्रतिवेदन सार्वजनिक गरेको छ ।

सेवा क्षेत्रभित्रका विद्यालय जाने उमेर समूह (५–१५) का बालबालिकाको वास्तविक अवस्था पत्ता लगाउने उद्देश्यले गरिएको घरधुरी सर्वेक्षण प्रतिवेदन आइतबार सार्वजनिक गरिएको हो ।

एक हजार ३६ घरमा पुगेर गरिएको सर्वेक्षणमा १० जना बालबालिका विद्यालय नजाने गरेको पाइएको छ । सार्वजनिक प्रतिवेदनअनुसार उनीहरू ५ देखि १५ वर्ष उमेर समूहका बालबालिका छन् ।

कक्षा ११ का मानविकी तथा शिक्षा समूहका विद्यार्थीले घरघर पुगेर लिएको तथ्यांकका आधारमा सो प्रतिवेदन तयार गरिएको हो । सो तथ्यांक संकलनका लागि विद्यार्थीहरु आठवटा समूह बनाएर एक साता खटेका थिए ।

प्रतिवेदनमा विद्यालय नजानेमा ६ जना बालिका र ४ जना बालक रहेको उल्लेख छ । विद्यालयले मेचीनगर नगरपालिकाका शिक्षा शाखा प्रमुख होमनाथ भण्डारीको उपस्थितिमा सार्वजनिक गरेको प्रतिवेदनमा ती बालबालिका विद्यालय जान नसक्नुमा आवाजविहीन, अपाङ्गता, आर्थिक अभाव , बसाइँसराइ, उमेर नगुगेको, आफैँ विद्यालय छाडेको र नागरिकता नभएको कारण खुलाइएको छ ।

सेवा क्षेत्रभित्रका मेचीनगर नगरपालिका ९, १० र ११ का वडाध्यक्ष विद्यालयमा बोलाएर प्रतिवेदन सार्वजनिक गरिएको हो । ती वडा सो विद्यालयको सेवा क्षेत्र हो । यद्यपि, कार्यक्रममा मेनपा ११ का वडाध्यक्ष रुद्र डाँगी अनुपस्थित थिए ।

कार्यक्रममा मेनपा ९ का वडाध्यक्ष कञ्चन तामाङले सबैलाई विद्यालय जाने वातावरण बनाउन तयार रहेको बताए । मेनपा १० का वडाध्यक्ष नारायण खनालले आर्थिक अवस्था र अपाङ्गताको अवस्था अनुसार बालबालिकालाई पढ्न पाउने नैसर्गिक अधिकार दिलाउन आफू प्रतिबद्ध रहेको बताए ।

शिक्षा शाखा प्रमुख भण्डारीले आधारभूत सीप हासिल गर्न सक्ने उमेर समूहका सबै बालबालिकालाई पढ्न पाउने अधिकारको प्रत्याभूति गरिने प्रस्ट्याए ।

कार्यक्रममा विद्यालयका प्रधानाध्यापक महेन्द्रविलास लुइँटेल, शिक्षक रमेश दाहाल, शिला खवास, विद्यालय व्यवस्थापन समिति अध्यक्ष गणेशविक्रम नेम्वाङले विद्यालयको अवस्था, सेवा क्षेत्र सर्वेक्षण, तथ्यांक विश्लेषण लगायतका बारेमा प्रस्ट्याएका थिए ।

सो विद्यालयमा तीन हजार सात सय विद्यार्थी अध्ययनरत छन् । धुलाबारी नमुना मावि झापाको सबैभन्दा बढी विद्यार्थी भएको विद्यालय हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

*

*

Adv footer