इटहरी, जेठ ३२ । कोशी प्रदेश मुख्यमन्त्री कप राष्ट्रिय महिला भलिबल प्रतियोगिताको उपाधि नेपाल पुलिस क्लबले जितेको छ ।
आज साँझ इटहरीस्थित प्रादेशिक रंगशालामा सम्पन्न फाइनल खेलमा अर्को विभागीय टोली सशस्त्र प्रहरीको एपिएफ क्लबलाई सोझो सेटमा हराउँदै पुलिसले उपाधि रक्षा गरेको हो ।
पुलिसले एपिएफलाई २५–१९, २५–१४ र २५–१८ को सेटमा हराउँदै उपाधि जितेको हो । पुलिसले सेमिफाइनलमा बागमती प्रदेशलाई हराउँदै अन्तिम दुईमा स्थान पक्का गरेको थियो ।
उपाधिसँगै पुलिसले तीन लाख रुपैयाँ, ट्रफी र मेडल प्राप्त गरेको छ । उपविजेता एपिएफले एक लाख ५० हजार रुपैयाँ, ट्रफी र प्रमाणपत्रमा चित्त बुझायो ।
प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी नेपाल पुलिस क्लबकी पुनम चन्द भइन् । उनले नगद ५५ हजार पाइन् ।
त्यस्तै, बेस्ट स्पाइकर एपिएफकी सरस्वती चौधरी, बेस्ट ब्लकर बागमती प्रदेशकी सुमित्रा रेग्मी, बेस्ट सर्भर पुलिसकी उषा भण्डारी, बेस्ट सेटर पुलिसकी कामना पुन र बेस्ट लिबेरो पुलिसकी शान्ति तामाङ भए ।
प्रतियोगिताका उत्कृष्ट प्रशिक्षक पुलिस क्लबका रुपेश विष्ट भए । उत्कृष्ट विधामा परेका खेलाडी तथा प्रशिक्षकले जनही १५ हजार रुपैयाँ प्राप्त गरे ।
प्रतियोगिताका विजेता तथा उपविजेतालाई प्रदेशका पूर्वमुख्यमन्त्री राजेन्द्र राई, कार्यक्रमकी अध्यक्ष तथा बोर्डकी उपाध्यक्ष जिना कार्की, बोर्डका सदस्य सचिव हंशराज वाग्ले, नेपाल भलिबल संघका उपाध्यक्ष मदन खड्कालगायतले पुरस्कार वितरण गरेका थिए ।
प्रदेश खेलकुद विकास बोर्ड कोशी प्रदेशको आयोजना तथा जिल्ला भलिबल संघ सुनसरीको संयोजनमा भइरहेको प्रतियोगितामा तीन विभागीयसहित ६ टिमको सहभागिता रहेको वाग्लेले जानकारी दिए ।
यसैबीच, प्रतियोगिताको अवसर पारेर बोर्डले अन्तर्राष्ट्रिय भलिबल खेलाडी विनिता बुढाथोकी र सुनिता खड्कालाई सम्मान गरेको छ ।
खेलमार्फत अन्तर्राष्ट्रिय क्षेत्रमा प्रदेशलाई चिनाउन भूमिका खेलेको भन्दै उनीहरुलाई नगद १५ हजारसहित सम्मानपत्र प्रदान गरिएको थियो ।
विनिता झापा दमककी हुन् भने सुनिता ओखलढुंगा सुनकोशीकी हुन् ।