बिर्तामोड, असार २ । बिर्तामोड नगरपालिकाले आयोजना गरेको गणित प्रदर्शनीअन्तर्गत बौद्विक प्रतिभा प्रदर्शनी प्रतियोगितामा मोहनमाया मावि प्रथम भएको छ ।
नगरस्तरीय प्रतियोगिताअन्तर्गत माध्यमिक तहतर्फको प्रतिभा प्रदर्शनीमा मोहनमाया प्रथम भएको हो । कनकाई बोर्डिङ स्कुल द्वितीय, महेन्द्ररत्न मावि तृतीय र कञ्चनजंघा अंग्रेजी बोर्डिङ स्कुल सान्त्वना भए ।
प्रतियोगिताको आधारभूत तहतर्फ देवी मावि प्रथम भएको छ । महेन्द्ररत्न मावि द्वितीय, कनकाई बोर्डिङ तृतीय र ग्लोरी अंग्रेजी स्कुल सान्त्वना भए ।
प्रतियोगिताअन्तर्गत दुवै तहका प्रथम, द्वितीय, तृतीय र सान्त्वनालाई नगद छ हजार, चार हजार पाँच सय, तीन हजार र एक हजार पाँच सयसहित प्रमाणपत्र प्रदान गरिएको छ ।
नगरपालिकाले आधारभूत तहको बालबालिकाहरुको लागि गायन प्रतियोगिता समेतको आयोजना गरेको थियो ।
प्रतियोगितामा मोहनमायाका अनुकूल निरौला प्रथम, न्युटन्स एजुकेसन एकाडेमीका रवि पाठक द्वितीय, कञ्चनजंघा अंग्रेजी स्कुलका रोजी शेख तृतीय र दुर्गा माविका समिर अधिकारी सान्त्वना भए ।
कविता प्रतियोगितामा महेन्द्ररत्न माविका रोशिका सिलवाल प्रथम, वीर अमरसिंह माविका प्रकाश निरौला द्वितीय, एसेन्ट एकेडेमीकी प्रिया भण्डारी तृतीय र न्युटन्सका गृष्मादेश प्रसाईं सान्त्वना भए ।
निबन्ध प्रतियोगितामा महेन्द्ररत्न माविकी तृष्णा भट्टराई प्रथम, न्युटन्सका इनुशा लिम्बू द्वितीय, न्युटन्सकै संस्कार भट्टराई तृतीय र ग्लोरी स्कुलकी सरु मगर सान्त्वना भए ।
गायन, कविता र निबन्ध प्रतियोगिताका प्रथम, द्वितीय, तृतीय र सान्त्वनाले नगद चार हजार, तीन हजार, दुई हजार र एक हजार रुपैयाँसहित प्रमाणपत्र प्राप्त गरेका छन् ।
नगरपालिकाको शिक्षा शाखाले वार्षिक कार्यक्रमअन्तर्गत प्रतियोगिताको आयोजना गरेको शिक्षा शाखा प्रमुख तिलचन भण्डारीले जानकारी दिए ।
महेन्द्ररत्न माविमा आयोजित कार्यक्रममा कार्यक्रमकी प्रमुख अतिथि नगर प्रमुख पवित्रा महतारा प्रसाईं र उपप्रमुख नगेन्द्रप्रसाद संग्रौलाले पुरस्कार वितरण गरेका थिए ।