२०८१ मंसिर १४ शुक्रबार
Jhapa Today
Adv top
Adv below_nav

कोशी प्रदेश मुख्यमन्त्री कप फुटबलः धनकुटा र सुनसरी विजयी


ओखलढुंगा, असार ५ । कोशी प्रदेश मुख्यमन्त्री कप नकआउट फुटबल प्रतियोगिताको तेस्रो र चौथो खेलमा धनकुटा र सुनसरी विजयी भएका छन् ।

प्रदेश खेलकुद विकास बोर्ड कोशी प्रदेशको आयोजनामा ओखलढुंगाको सिद्धिचरण नगरपालिकास्थित सगरमाथा जनता माविको खेलमैदानमा भइरहेको प्रतियोगितामा धनकुटा र सुनसरी विजयी भएका हुन् ।

आज भएको पहिलो खेलमा धनकुटाले अर्को पहाडी जिल्ला भोजपुरलाई ५–३ गोल अन्तरले हरायो । धनकुटाले अब वार्कओभर पाएको इलामसँग खेल्नेछ ।

धनकुटाका लागि कुसुम थुलुङ राईले २ गोल गरे भने विवेक राई, दिपेन शाक्य र वीरेन लिम्बूले एकएक गोल गरे । भोजपुरको तर्फबाट अनिश बस्नेत, सन्तोष तामाङ र सौगात राईले गोल गरे ।

खेलमा सुरुवाती अग्रता भोजपुरले लिए पनि सम्हालिन नसक्दा हार व्यहोर्नु परेको थियो ।

खेलको सातौँ मिनेटमा भोजपुरका अनिश बस्नेतले पहिलो गोल गरेका थिए । तर, १७ औँ मिनेटमा धनकुटाका विवेक राईले गोल गर्दै खेल बराबरीमा ल्याए ।

खेलको २७ औँ र ३२ औँ मिनेटमा धनकुटाका कुसुम थुलुङ राईले गोल गर्दै खेल ३–१ को अग्रता बनाए ।

दुई गोलले पछि परेको भोजपुरका लागि ३६ औँ मिनेटमा सन्तोष तामाङले गोल गर्दै अन्तर घटाउँदै खेल ३–२ मा फर्काए ।

तर त्यो पनि धेरै समय टिक्न सकेन । धनकुटाका दिपेन शाक्यले ५७ औँ मिनेट र वीरेन लिम्बूले ६२ औँ मिनेटमा गोल गर्दै ५–२ को स्थितिमा खेल पुर्याए ।

खेलको ७३ औँ मिनेटमा भोजपुरका सौगता राईले गोल गर्दै अग्रता घटाएर खेल ५–३ गोल अन्तरमा पुर्याए पनि जितका लागि पर्याप्त हुन सकेन ।

खेलको म्यान अफ द म्याच धनकुटाका कुसुम थुलुङ राई भए । उनलाई बोर्डका सदस्य सचिव हंशराज वाग्ले र ओखलढुंगा जिल्ला खेलकुद विकास समितिका अध्यक्ष प्रविन श्रेष्ठले नगद चार हजार र मेडल प्रदान गरे ।

यसैबीच, आज भएको दोस्रो खेलमा सुनसरीले पाँचथरलाई पराजित गर्यो । सुनसरीले पाँचथरलाई ३–० गोल अन्तरले हराएको हो । सुनसरीले अब तेह्रथुम र खोटाङबीचको विजेतासँग खेल्नेछ ।

खेलको २५ औँ मिनेटमा सुनसरीका निमा शेर्पाले गोल गर्दै सुरुवाती अग्रता दिलाएका थिए । त्यस्तै, खेलको ४७ औँ मिनेटमा योगेन्द्र कार्कीले गोल थप्दै २–० को स्थितिमा पुर्याए ।

खेलको ७२ औँ मिनेटमा शेर्पाले पुनः एक गोल गर्दै सुनसरीको जित पक्का गरे । खेलको म्यान अफ द म्याच दुई गोल गर्ने सुनसरीका शेर्पा भए । उनले नगद चार हजार र मेडल पाए ।

प्रतियोगितामा कोशी प्रदेशका १३ जिल्लाको सहभागिता रहेको छ । ताप्लेजुङले भने पहिरोका कारण सडक अवरुद्ध भएपछि सहभागिता जनाउन सकेन ।

प्रतियोगिताको विजेताले नगद २ लाख, ट्रफी, मेडल र प्रमाणपत्र पाउनेछ भने उपविजेताले नगद १ लाख ट्रफी, मेडल र प्रमाणपत्रमा चित्त बुझाउनेछ ।

त्यस्तै, प्रत्येक खेलको प्लेयर अफ द म्याचलाई नगद ४ हजार रुपैयाँ प्रदान गरिने बोर्डले जनाएको छ ।

प्रतियोगिताका उत्कृष्ट गोलकिप्पर, गोलरक्षक, मिडफिल्डर, फरवार्ड, प्रशिक्षक र उच्च गोलकर्तालो पाँच हजार रुपैयाँ र ट्रफी पाउने छन् ।

प्रतियोगितको फाइनल खेल असार ९ गते हुनेछ । भोलिको खेल झापा र ओखलढुंगा, तेह्रथुम र खोटाङ तथा संखुवासभा र उदयपुरका बीच हुनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

*

*

Adv footer