२०८२ भदौ २९ आइतबार
Jhapa Today
Adv top

राष्ट्रपति रनिङ शिल्डका पदकधारी झापाली खेलाडीलाई नगदसहित सम्मान


भद्रपुर, असार ६ । बैशाखमा सम्पन्न १३ औँ राष्ट्रपति रनिङ शिल्ड राष्ट्रिय प्रतियोगितामा पदक प्राप्त झापाका खेलाडीलाई सम्मान गरिएको छ ।

खेलाडीको हौसलाका लागि झापा जिल्ला खेलकुद विकास समितिले एक कार्यक्रमको आयोजना गरी खेलाडी छात्रछात्रालाई नगदसहित सम्मान गरेको हो ।

मेची रंगशालास्थित कबर्ड हलमा आयोजित कार्यक्रममा प्रमुख अतिथि युवा तथा खेलकुदमन्त्री डिकबहादुर लिम्बूले खेलाडीहरुलाई नगद पुरस्कारसहित सम्मानपत्र प्रदान गरेका थिए ।

समितिले राष्ट्रिय खेलकुदमा एथलेटिक्सको ट्रिपल जम्पतर्फ स्वर्ण पदकधारी राजीव ढुंगाना, पुरुष कबड्डीमा रजत पदक प्राप्त अमन ताजपुरिया र आदर्श सहनी, महिला कबड्डीमा कास्य पदक पाउने मनमाया तामाङ, राधिका कुमाल र सविना माबो, करातेमा कास्य पदक प्राप्त पुष्चल रामदान र समिर मगरलाई सम्मानपत्र प्रदान गरेको थियो ।

स्वर्ण पदकलाई नगद पाँच हजार, रजत पदकलाई नगद तीन हजार र कास्य पदकधारीलाई नगद दुई हजार रुपैयाँ प्रदान गरिएको समितिका अध्यक्ष प्रशान्त भण्डारीले जानकारी दिए ।

यसैबीच, समितिले खेलकुदको विकास, सम्बर्द्धन र संरक्षणमा उल्लेख्य योगदान पुर्याएको भन्दै भद्रपुर नगरपालिका, कनकाई नगरपालिका, अर्जुनधारा नगरपालिका, कनकाई नगर खेलकुद विकास समिति, भद्रपुर झापा गोल्डकप, झापा गोल्डकप र सहारा नेपाल साकोसलाई पनि सम्मान गरेको थियो ।

कार्यक्रममा मन्त्री लिम्बूलाई समितिले स्वागत गर्दै कदरपत्र प्रदान गरेको थियो । समितिका अध्यक्ष भण्डारी, उपाध्यक्ष गंगा भुर्तेल, कार्यालय सचिव विष्णु नेम्वाङलगायत समितिका पदाधिकारी–सदस्य र प्रशिक्षकहरुले संयुक्त रुपमा मन्त्री लिम्बूलाई कदरपत्र हसतान्तरण गरेका थिए ।

समितिले मेची रंगशालालगायत भौतिक संरचनाहरुको स्तरोन्नति तथा झापाको खेलकुद क्षेत्रको समग्र विकासका लागि बुँदागत रुपमा तयार पारेको मागपत्र मन्त्री लिम्बूलाई हस्तान्तरण गरिएको समितिका प्रवक्ता जगन दुर्वासा कार्कीले जानकारी दिए ।

त्यस्तै, भद्रपुर झापा गोल्डकपका तर्फबाट पनि मन्त्री लिम्बूलाई मागपत्र हस्तान्तरण गरिएको गोल्डकपका महासचिव जीवनकुमार श्रेष्ठले जानकारी दिए ।

Adv footer