२०८२ साउन ९ शुक्रबार
Jhapa Today
Adv top

भद्रपुरमा रोजगार सम्वाद मञ्च गठनका लागि अन्तरक्रिया


भद्रपुर, असार १९ । भद्रपुरमा रोजगार क्षेत्रका सबै पक्षको व्यवस्थापन गर्ने उद्देश्यले रोजगार सम्वाद मञ्च गठनको तयारी गरिएको छ ।

नगरपालिकाले यसका लागि सरोकारवालाहरुसँग छलफल पनि सुरु गरेको छ । यसै सन्दर्भमा मंगलबार सरोकारवालाबीच ‘रोजगार सम्वाद मञ्च सञ्चालन एवम् स्थानीय तह रोजगार तर्जुमा’ सम्बन्धी अन्तरक्रिया गरिएको छ ।

भद्रपुर नगरपालिकामा रोजगारीको क्षेत्रका अवसर तथा सम्भावनाको पहिचान, समस्याहरुको निदान र रोजगारी सिर्जनाका उपाय एवम् ढाँचा तथा विधि विकास गर्न रोजगार सम्वाद मञ्च गठनको तयारी गरिएको नगरपालिकाका रोजगार संयोजक टिकाराम पाण्डेले जानकारी दिए ।

त्यस्तै, रोजगार नीति तथा कार्यक्रमका सम्बन्धमा आवश्यक सुझाव आदान–प्रदान गर्न, निजी, सहकारी तथा गैरसरकारी क्षेत्र, नागरिक समाज र सञ्चार क्षेत्रसमेतको सहभागितामा मञ्च गठन गरिनेछ ।

नगरप्रमुख गणेश पोखरेलको अध्यक्षतामा भएको अन्तरक्रियामा प्रमुख प्रशासकीय अधिकृत टेककुमार रेग्मीले रोजगारको बहुआयामिक पक्षका बारेमा जानकारी गराएका थिए भने सुरक्षित आप्रवासन कार्यक्रम (सामी) का कार्यक्रम संयोजक फणिन्द्रप्रसाद दाहालले आन्तरिक रोजगारी, खोजी र साझेदारी विषयमा प्रस्तुति दिएका थिए ।

कार्यक्रममा नगरपालिकाले रोजगार सम्वाद मञ्च सञ्चालन तथा व्यवस्थापन कार्यविधिको प्रारुप तयार पारेको र छलफलको क्रममा रहेको जानकारी दिँदै नगरप्रमुख पोखरेलले छुट्नसक्ने विषयहरुका लागि सुझाव संकलन गर्न सरोकारवालाहरुबीच अन्तरक्रिया गरिएको जानकारी दिए ।

कार्यक्रममा संकलन भएका महत्वपूर्ण सुझावहरु समेटेर कार्यविधिलाई अन्तिम रुप दिइने र यसै वर्षबाट कार्यविधि लागु गरी कार्यान्वयनमा ल्याइने नगरप्रमुख पोखरेलले जानकारी दिए ।

Adv footer