२०८१ बैशाख ३१ सोमबार
Jhapa Today
Adv top
Adv below_nav

सेप्टिक ट्यांक प्रकरणः चारजनाविरुद्ध ज्यानसम्बन्धी कसुरमा जाहेरी


मेचीनगर, असार २६ । विद्यालयको शौचालयको सेप्टिक ट्यांकमा डुबेर छोराको निधन भएपछि परिवारले विद्यालय सञ्चालक र कर्मचारीविरुद्ध प्रहरी किटानी जाहेरी दिएका छन् ।

धुलाबारीस्थित सानो साथी किन्डर गार्टेन नामक पूर्वप्राथमिक विद्यालयमा पढ्ने ८ वर्षीय बालक तान्छोकहाङ लिम्बूको बिएन्डसी अस्पतालमा उपचारको क्रममा आज बिहान १०ः३० बजे निधन भएको थियो ।

बालक हिजो हिजो असार २५ गते खाजा खाएर शौचालय जाँदा शौचालयको ढोकाअगाडि रहेको सेप्टिक ट्यांकभित्र खसेका थिए । सेप्टिक ट्यांकको प्वाल छोप्न मक्किएको प्लाइको प्रयोग गरिएका कारण त्यसमाथि लिम्बू हिँड्दा भित्र झरेका थिए ।

निधन भएका बालकको परिवारका तर्फबाट आमा मेरिना लिम्बू र बुवा खर्कबहादुर सुब्बाले इलाका प्रहरी कार्यालय धुलाबारीमा आज साँझ लिखित जाहेरी दिएका हुन् । उनीहरुले सानो साथी किन्डर गार्टेनका सञ्चालक मनोज गुरुङ तथा कर्मचारीमाथि ज्यानसम्बन्धी कसुरमा कानुनी कारबाहीको माग गर्दै प्रहरीमा किटानी जाहेरी दिएका हुन् ।

जाहेरीमा विद्यालयका सञ्चालक तथा प्रिन्सिपल गुरुङ, सञ्चालक सुरेन रसाइली, व्यवस्थापक अनिशा पोखरेल र कर्मचारी रमा सुनारलाई तत्काल पक्राउ गरी कडाभन्दा कडा कानुनी कारबाहीको माग गरिएको छ ।

विद्यालयको सेप्टिक ट्यांकमा डुबेर बेहोश अवस्थामा हस्पिटल पुर्याइएको भनिए पनि हस्पिटल पुर्याउँदा चिकित्सकहरुले घाइतेको मुटुको धड्कन नभएको बताएको जाहेरीमा उल्लेख छ ।

बालकलाई बेहोश अवस्थामा उद्दार गरी हिजो दिउँसो २ बजे अस्पताल भर्ना गरिएको थियो । उनको चिन्ताजनक अवस्थामा भेन्टिलेटरमा राखेर उपचार गराइएको थियो । बालक लिम्बूको फोक्सोमा पानी जमेर श्वासप्रश्वासमा गम्भीर समस्या भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

*

*

Adv footer