

बिर्तामोड, असार २७ । असार सकिन लाग्दासमेत पर्याप्त पानी पर्न नसक्दा रोपाइँ प्रभावित भइरहेको छ । भनेजस्तो पानी नपर्दा कृषक चिन्तित बनेका छन् ।
मौसमविद्ले अझै केही दिन लगातार झरी पर्ने सम्भावना नरहेको बताएका छन् । लगातार झरी नपरे पनि केही ठाउँमा पानी पर्ने र रोकिने क्रम भने चलिरहने मौसमविद् रोजन लामिछानेले जानकारी दिए ।

उनका अनुसार अहिले कोशी र मधेस प्रदेशका सबैजसो ठाउँमा र बाग्मती प्रदेशका पूर्वी क्षेत्रमा मौसम बदली भएको छ । हिजो राति कोशी प्रदेशको झापामा ठुलो वर्षा भएको थियो । आज पनि कोशी प्रदेशका एकदुई ठाउँमा ठलो पानी पर्ने अनुमान छ ।

कोशी प्रदेशको झापामा आज बिहानैदेखि वर्षा सुरु भएको छ । सुरुमा झरीको रुपमा पानी परे बिहान पौने ९ बजेदेखि मेघगर्जनसहित भारी वर्षा भइरहेको छ । झापामा भारी वर्षासँगै बाढीको जोखिम पनि बढ्ने अनुमान गरिएको छ ।

यसपालिको मनसुनमा अहिलेसम्म खण्डखण्ड भएर पानी परिरहेको छ । कुनै एक क्षेत्रमा ठुलो वर्षा भए पनि नजिकैको अर्को क्षेत्रमा सुख्खा छ । मनसुनको सुरुवातमा कोशी प्रदेशका पूर्वी पहाडी जिल्लामा लगातारजसो ठुलो वर्षा भएको थियो ।

त्यसपछि भने खासै पानी पर्न सकेको छैन । यसपालिको मनसुनमा सरदरभन्दा कम वर्षा हुने अनुमान यसअघि नै सार्वजनिक भइसकेको छ ।

आज हल्कादेखि मध्यम वर्षाको सम्भावना रहनुका साथै कोशी प्रदेशका १–२ स्थानमा मेघगर्जन, चट्याङसहित भारी वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

बुधबार बिहान मौसम पूर्वानुमान बुलेटिन जारी गर्दै महाशाखाले हावाहुरी, भारी वर्षा, मेघगर्जन, चट्याङ, गेग्रान बहाव, बाढी, पहिरो तथा भूक्षयका कारण हुन सक्ने जोखिम वा क्षतिबाट बच्न आवश्यक सतर्कता अपनाउन अनुरोध गरेको छ ।
