बिर्तामोड, असार २७ । झापा धुलाबारीको सानो साथी किन्डर गार्टेन एक दशकदेखि सञ्चालनमा रहेको प्रिस्कुल हो ।
पछिल्लो दशकयता झापामा पनि सानो साथीजस्तै दर्जनौँ प्रिस्कुलहरु च्याउसरी सञ्चालित छन् । केही दर्ता गरेर नियम र मापदण्डमा छन् भने कोहीले अनुमतिबिना नै जथाभावी प्रिस्कुल चलाएका छन् ।
आजकाल अभिभावक व्यस्त भएर बच्चाहरु २ वर्ष नटेक्दै स्कुल पठाउने हतारो हुन्छ । कतिपयको बाध्यता भए पनि धेरैले लहडमै बच्चालाई रुवाउँदै प्रिस्कुलतर्फ लगिरहेका छन् ।
‘प्रि स्कुल, मन्टेश्वरी, डे केयर, किन्डर गार्टेन’ जस्ता नाम दिएर खोलिएका पूर्वप्राथमिक विद्यालयबारे यो बेला झापामा प्रश्न उठेको छ । प्रश्न यसरी उठेको छ, जब अपूरणीय नोक्सानी र पूर्ति हुनै नसक्ने क्षति भयो ।
धुलाबारीको सानो साथी किन्डर गार्टेनमा रहेको शौचालयको सेप्टिक ट्यांकभित्र खसेका बालक विद्यार्थीको निधन भएपछि नगरपालिकाको पनि कान ठाडो भएको छ । शिशुहरु पढ्ने तथा शैशव अवस्थामै त्यस्ता प्रिस्कुलमा भर्ना हुने ‘तान्छोकहाङहरु’को निधन भएपछि मात्रै मेचीनगर नगरपालिकाको चेत खुलेको छ, अनुगमन जरुरी रहेछ भनेर ।
त्यस्ता प्रिस्कुल नगरपालिकाभित्र कति छन् भन्ने न वडा कार्यालयलाई थाहा छ, न नगरको शिक्षा शाखामा रेकर्ड छ । किनकि, सानो साथीजस्ता धेरै प्रिस्कुलहरु आफूखुसी सञ्चालित छन् । मापदण्डविपरीत छन् ।
तान्छोकहाङ लिम्बूको घटनामा स्कुल सञ्चालक र व्यवस्थापन मात्र दोषी छैन, अनुगमन र नियमन गर्ने निकाय मुग्दर्शक र नालायक बन्दा तान्छोकहाङको बाआमाको काख रित्तिएको हो ।
तान्छोकहाङले पूर्वाधार नपुगेको विद्यालयका कारण सेप्टिक ट्यांकमा खसेर अकालमा ज्यान गुमाउनुपर्यो । सानो साथीलाई १० वर्षसम्म सञ्चालनमा रहेको ‘नदेख्नु’ नगरपालिकाको कमजोरी होइन ?
धेरैजसो प्रिस्कुलमा पूर्वाधार पूरा भएका छैनन् । बालबालिकाको आवासबाट विद्यालय बढीमा २० मिनेटको दूरीमा हुुनुपर्ने, बालमैत्री पूर्वाधार हुनुपर्ने, योग्यता पुगेका तालिमप्राप्त जनशक्ति हुनुपर्ने सामान्य प्रावधान पनि सानो साथीजस्ता झापाका धेरैजसो प्रिस्कुलहरुमा छैन ।
तान्छोकको परलोकपछि अबचाहिँ पालिकाहरुले यस कुरामा ध्यान दिन्छन् कि ? किनकि पालिकाका ‘हाकिमहरु’लाई बाटो र पुल मात्र विकास हो भन्ने ठुलो भ्रमले घेरेको छ । उनीहरु त्यो भ्रमको जालोमा यसरी बेरिएका छन् कि उनीहरु बाटो र पुलबाहेक देख्नै सक्दैनन् ।
प्रिस्कुलका लागि झापामा खुला कक्षाकोठा, बालमैत्री फर्निचर, भवनभित्र र बाहिर सुरक्षा व्यवस्था, स्वास्थ्यकर्मीको व्यवस्था र नियमित स्वास्थ्य परीक्षण, खेल मैदान, विश्राम कक्ष, पोषणयुक्त खानेकुरा, शुद्ध पिउने पानी, बालमैत्री शौचालय जस्ता मापदण्ड बनाइनुपर्छ ।
घेराबारा र भित्तामा रंगरोगन गरेर झिलिमिली पार्नेबाहेक अन्य कुरा गौण हुन्छन् भन्ने तान्छोक झरेको सेप्टिक ट्यांक भएको सानो साथी किन्डर गार्टेनले पनि देखाइसकेको छ ।
शिक्षा स्थानीय तहको मातहतमा आए नि झापाका पालिकाले त्यस्ता स्कुलमाथि नियमन गरेको पाइँदैन । त्यस्ता स्कुलहरुलाई आधारभूत पूर्वाधार भएनभएको अनुगमन गरेर मात्र दर्ता दिनुपर्छ ।
त्यस्तै, तीन वर्षभन्दा मुनिका ६ बालबालिकाका लागि १ शिक्षक, तीनदेखि चार वर्षका १२ बालबालिकाका लागि एक शिक्षक, चार वर्षदेखि पाँच वर्षसम्मका १५ बालबालिकाका लागि एक शिक्षक हुनुपर्ने व्यवस्था भए पनि मेचीनगर र झापाका अन्य पालिकामा यस्तो अवस्था छैन ।
कतिपय प्रिस्कुलहरु बच्चा हुकाइदिने फ्याक्ट्रीजस्ता मात्र छन् । पालिकाहरुले पूर्वप्राथमिक विद्यालय व्यवस्थापन निर्देशिका बनाउन जरुरी । अनि मात्र स्वीकृति दिएर त्यस्ता प्रिस्कुलहरु सञ्चालन गर्न दिइनुपर्छ ।