२०८१ असोज ३ बिहीबार
Jhapa Today
Adv top
Adv below_nav

धुलाबारी सेप्टिक ट्यांक प्रकरणः आरोपीमाथि अनुसन्धान जारी


मेचीनगर, साउन ३ । विद्यालयको शौचालयको सेप्टिक ट्यांकमा डुबेर विद्यार्थीको निधन भएपछि पक्राउ परेका विद्यालय सञ्चालक र कर्मचारीमाथि अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय झापाका अनुसार पक्राउ परेका तीनजनामाथि ज्यानसम्बन्धी कसूरमा अनुसन्धान भइरहेको छ । प्रहरीले उनीहरुलाई हिरासतमा राखेर बयान लिने तथा थप अनुसन्धान गर्ने काम गरिरहेको झापाका प्रहरी प्रवक्ता खगेन्द्रप्रसाद रिजालले जानकारी दिए ।

रिजालका अनुसार घटना भएपछिको २५ दिनभित्र अनुसन्धानका सबै कागजात संलग्न गरेर बुझाएपछि सरकारी वकिलमार्फत जिल्ला अदालत झापामा आरोपीविरुद्ध मुद्दा दर्ता हुनेछ । पोस्टमार्टम रिपोर्ट, अभियोगपत्र तथा बयान लिने र तयार पार्ने काम सकिएपछि सरकारी वकिललाई बुझाइने रिजालले बताए ।

प्रहरीले घटना भएको धुलाबारीस्थित सानो साथी किन्डर गार्टेन नामको पूर्वप्राथमिक विद्यालयका प्रिन्सिपल तथा सञ्चालक मेचीनगर–११ का ४५ वर्षीय मनोज गुरुङलाई घटना भएकै दिन असार २५ गते पक्राउ गरेको थियो ।

त्यस्तै, मेचीनगर–१० की विद्यालयकी व्यवस्थापक २४ वर्षीया अनिशा पोखरेल, मेचीनगर–११ की विद्यालयकी कर्मचारी ३५ वर्षीया रमा सुनारलाई भने प्रहरी किटानी जाहेरी दर्ता भएपछि पक्राउ गरिएको थियो ।

अर्का आरोपी एवम् स्कुलका सञ्चालक काठमाडौँ–३१ का ४२ वर्षीय सुरेन रसाइली भने हालसम्म पक्राउ नपरेको प्रवक्ता रिजालले बताए । उनीविरुद्ध पक्राउ आदेश जारी भएको र खोजी भइरहेको प्रहरीले जनाएको छ ।

यसैबीच, रसाइली पक्राउ परेको वा नपरेकोबारे आफूलाई थाहा नभएको इलाका प्रहरी कार्यालय धुलाबारीका प्रहरी निरीक्षक अनिल माबोहाङले यसअघि बताएका थिए ।

निधन भएका बालकको परिवारका तर्फबाट आमा मेरिना लिम्बू र बुवा खर्कबहादुर सुब्बाले इलाका प्रहरी कार्यालय धुलाबारीमा असार २६ गते साँझ लिखित जाहेरी दिएका थिए ।

धुलाबारीस्थित सानो साथी किन्डर गार्टेन नामको पूर्वप्राथमिक विद्यालयमा पढ्ने ८ वर्षीय बालक तान्छोकहाङ लिम्बूको बिएन्डसी अस्पतालमा उपचारको क्रममा असार २६ गते बिहान १०ः३० बजे निधन भएपछि परिवारले विद्यालय सञ्चालक र कर्मचारीविरुद्ध प्रहरीमा किटानी जाहेरी दिएका थिए ।

असार २५ गते खाजा खाएर शौचालय जाँदा शौचालयको ढोकाअगाडि रहेको सेप्टिक ट्यांकभित्र बालब लिम्बू खसेका थिए । सेप्टिक ट्यांकको प्वाल छोप्न मक्किएको प्लाइको प्रयोग गरिएका कारण त्यसमाथि लिम्बू हिँड्दा भित्र झरेका थिए ।

कानुनी व्यवस्थाअनुसार ज्यानसम्बन्धी कसूरको दफा १८१ लापरबाहीपूर्ण काम गरी ज्यान गएको विषयमा उनीहरुमाथि मुद्दा चल्ने बताइएको छ । सोबमोजिमको कसूर गर्ने व्यक्तिलाई तीनदेखि दस वर्षसम्म कैद र तीस हजार रुपैयाँँदेखि एक लाख रुपैयाँँसम्म जरिवाना हुने कानुनमा उल्लेख छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

*

*

Adv footer