२०८१ जेठ ७ सोमबार
Jhapa Today
Adv top
Adv below_nav

मेची भन्सारबाट बाहिरिएको कन्टेनरले राजश्व छलेको पुष्टि, भन्सारमाथि छानबिन हुने


मेचीनगर, साउन १७ । मेची भन्सार कार्यालय काँकरभिट्टाबाट बाहिरिएको कन्टेनरले राजश्व छलेको पुष्टि भएको छ । राजश्व अनुसन्धानले कन्टेनर खोलेर छानबिन गर्दा भन्सार प्रज्ञापनपत्रभन्दा बढी र फरक सामान जफत गरेसँगै भन्सारभित्रबाटै राजश्व छली भएको प्रमाणित भएको हो ।

कन्टेनरभित्र राजश्व छलीको सामान भेटिएको राजश्व अनुसन्धान कार्यालय इटहरीले जनाएको छ । सन्तोष खवास प्रोप्राइटर रहेको स्वाभिमान सन्स एन्ड सप्लायर्स मेचीनगरले मेची भन्सारमा तिरेको भन्दा बढी र फरक सामान कन्टेनरमा फेला परेको राजश्व अनुसन्धान कार्यालयका प्रमुख सुरेश आचार्यले झापा टुडेलाई बताए ।

प्रज्ञापनपत्रमा उल्लेख नभएको अफजल प्रामाणिक स्वादको गुड नाम लेखिएको ८० कार्टुन हुक्काको फ्लेवर, काँचको झ्याली र झ्याम्टा एक हजार किलो र हुक्कामा प्रयोग हुने कोइला ३०० किलो भेटिएको आचार्यले बताए ।

राजश्वले जफत गरेका सामानबापत ४८ लाख ४१ हजार रुपैयाँ धरौटी माग गरेको छ । कन्टेनरको चालकको हकमा ५० हजार धरौटी कायम गरिएको उनले बताए । राजश्वले पहिलो चरणमा सामान जफत गरी बिगो र धरौटी रकम कायम गरेको छ ।

भन्सारबाट बाहिरिएको कन्टेनरभित्र सामान बढी फेला परेका विषयमा छानबिन गरिने उनले जानकारी दिए । त्यसबारेमा मेची भन्सारलाई राजश्वले पत्र काट्नेदेखि भन्सार कर्मचारीमाथि छानबिन गर्ने बताइएको छ ।

जिल्ला प्रहरी कार्यालय झापा र इलाका प्रहरी कार्यालय काँकडभिट्टाको संयुक्त टोलीले साउन १२ गते शुक्रबार बेलुका ७ बजेर १५ मिनेटमा मेचीनगर– ६ स्थित फाइरिङ चोकमा पार्किङ गरी राखिएको ना. ६ ख ४९०२ नम्बरको कन्टेनरलाई नियन्त्रणमा लिएर राजश्व बुझाएको थियो । मेची भन्सार परिसरभित्रबाट विभिन्न सामान लोड गरी बाहिरिएको कन्टेनरभित्र राजश्व छलेको लाखौँ सामान रहेको विशेष सूचनाको आधारमा प्रहरीले कन्टेनर नियन्त्रणमा लिएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

*

*

Adv footer