२०८१ जेठ ७ सोमबार
Jhapa Today
Adv top
Adv below_nav

अल इन वान क्लबले खेलाडीलाई दिएको चेक अझै साटिएन, विजेतालाई भाडामा ट्रक !


विजेता नमोबुद्धका खेलाडी तथा अफिसियल ।

बिर्तामोड, साउन १८ । बिर्तामोडको अल इन वान क्लबले आयोजक टिमबाट सहभागी खेलाडीलाई पारिश्रमिकबापतको रकम अझै नदिएको खेलाडीले बताएका छन् ।

प्रतियोगिता सकिएको ९६ दिन बितिसक्दा पनि पाँचजना महिला खेलाडीले रकम नपाएका हुन् । उनीहरुलाई खेल सकिएको ९३ दिनपछिको चेक दिइए पनि अझै साटिएको छैन । खातामा पर्याप्त रकम नहुँदा चेक नसाटिएको हो ।

गत बैशाख १६ गते बिर्तामोड १० सैनिकबजारमा भएको प्रदेशस्तरीय महिला फुटबल प्रतियोगितामा आयोजक अल इन वान क्लबबाट खेलेका कनकाईका छत्रिका चौधरी, सुस्मिता चौधरी, नेहा चौधरी तथा अर्जुनधाराका ममता राउत र खुश्मा राईले पारिश्रमिक पाएका छैनन् ।

आयोजकले २०८० साउन १५ गतेको चेक दिएको थियो । तर, हिजो साउन १७ गते पनि चेक नसाटिएको खेलाडीले बताएका छन् । चेक साट्न छत्रिका चौधरी बैंक गएकी थिइन् ।

एक खेलाडीका अनुसार आयोजकले उनीहरुलाई सनराइज बैंकको चेक दिएको थियो । ४५ हजार रकमको सो चेक साट्न बैंक गएकी चौधरी रित्तो हात फर्किइन् । पाँचजना खेलाडीले प्रत्येक म्याचको तीन हजार रुपैयाँका दरले तीन म्याचको नौ हजार रुपैयाँको दरले रकम पाउन बाँकी छ ।

यसैबीच, फुटबलको उपाधिबापतको पुरस्कार राशि दिन नसक्ने भएपछि अल इन वान क्लबले मालबहाक ट्रक दिएको छ । तर, आयोजकले सो ट्रक केही समयसम्मका लागि मात्र दिएको हो । क्लबले अशोक लेल्यान्ड कम्पनीको १० चक्के ट्रक सप्तरीको नवोबुद्ध क्लबलाई दिएको हो ।

फाइनल खेलमा आयोजक अल इन वान क्लबलाई टाइब्रेकरमा ४–२ गोल अन्तरले पराजित गर्दै नमोबुद्ध युवा क्लब सप्तरीले उपाधि जितेको थियो ।

नमोबुद्धले विजेताबापतको रकम नपाएपछि नगरपालिकादेखि वडा कार्यालय, जिल्ला फुटबल संघ लगायतका निकायमा सहयोग मागेको थियो । तर, कतैबाट पनि सहयोग नमिलेपछि नमोबुद्ध युवा क्लबका अध्यक्ष सुरेश लामालाई आयोजकले एक वर्षका लागि ट्रक प्रयोग गर्न दिएको लामाले बताए ।

पटकपटक फोन गरी पैसा असुल गरिदिन आग्रह गर्दा र बिर्तामोडमा बस्दै झन्डै एक लाख रुपैयाँ खर्च भएको लामाले बताए । लामाले अब यो ‘केस’ सकिएको हुँदा ‘पैसा नदिएको भनेर समाचार नबनाइदिन’ आग्रह पनि गरे ।

आयोजक अल इन वान क्लबका अध्यक्ष कृष्ण योञ्जनले ढाटेर दुःख दिइरहँदा झापामा कसैले पनि आफूहरुलाई सहयोग नगरेको लामाले गुनासो गरे ।

प्रतियोगिताको विजेतालाई नगद २ लाख २ हजार तथा उपविजेतालाई १ लाख १ हजार नगद पुरस्कार तोकिएको थियो । आफूहरुले पहिलो पुरस्कार २ लाख २ हजारमध्ये कुनै पनि रकम नपाएको लामाले बताए । उनले पुरस्कारको राशि २ लाख २ हजार र यातायात खर्चबापतको २० हजार गरी पाउनुपर्ने २ लाख २२ हजार रुपैयाँ नपाएको जानकारी दिए ।

अध्यक्ष योञ्जनले पैसा नउठेको भन्दै जिम्मेवारीबाट पन्छिन खोजेको लामाले प्रतिक्रिया दिए । झापा जिल्ला फुटबल संघका अध्यक्ष भगिरथ आले मामाले पनि त्यस विषयमा आयोजकलाई पटकपटक ध्यानाकर्षण गराउँदा चासो नदिएको बताए ।

त्यस्तै, प्रतियोगिता दौरान उदयपुरको टिमले पहिलो खेल खेलेर फर्किंदा म्याच मनि नपाएपछि अर्को खेलमा सहभागी नहुने बताएपछि दुवै खेलको रकम पाएपछि मात्र खेलेको थियो ।

आयोजकले धनकुटाको म्याच मनि पनि निकै समयपछि मात्र दिएको थियो । टिम प्रशिक्षक सरिन राईले पैसाका लागि धेरैपटक बिर्तामोड धाउनु परेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

*

*

Adv footer