२०८१ कार्तिक २० मंगलबार
Jhapa Today
Adv top
Adv below_nav

धुलाबारी सेप्टिक ट्यांक प्रकरणः प्रिन्सिपल पुर्पक्षका लागि थुनामा, २ जना धरौटीमा रिहा


झापा, साउन २२ । झापा जिल्ला अदालतले धुलाबारीस्थित सानो साथी किन्डर गार्टेन नामको पूर्वप्राथमिक विद्यालयमा पढ्ने ८ वर्षीय बालक तान्छोकहाङ लिम्बूको मृत्यु भएको घटनामा विद्यालयका प्रिन्सिपल मनोज गुरुङलाई पुर्पक्षका लागि थुनामा राख्ने आदेश दिएको छ ।

असार २५ गते उक्त तान्छोकहाङको मृत्यु भएको थियो । तान्छोकहाङको मृत्यु शंकास्पद रहेकाले आमा मेरिना लिम्बू र बुवा खर्कबहादुर लिम्बूले इलाका प्रहरी कार्यालय धुलाबारीमा असार २६ गते साँझ ज्यानसम्बन्धी कसूरमा जाहेरी दिएपछि प्रहरीले विद्यालयका सञ्चालक समेत रहेका मेचीनगर–११ निवासी ४५ वर्षीय मनोज गुरुङ सहित तीन जनालाई पक्राउ गरेर झापा जिल्ला अदालतमा मुद्धा चलाएको थियो ।

आइतवार उक्त मुद्धाको थुनछेक बहसपछि अदालतले प्रिन्सिपल गुरुङलाई थुनामा राख्ने आदेश दिएको हो भने अरु दुई जना आरोपितलाई धरौटीमा रिहा गर्ने आदेश दिएको छ ।

उक्त घटनाका आरोपित मेचीनगर–१० की विद्यालयकी व्यवस्थापक २४ वर्षीया अनिशा पोखरेल, मेचीनगर–११ की विद्यालयकी कर्मचारी ३५ वर्षीया रमा सुनार रहेका थिए । अदालतले पोखरेललाई रु. दुई लाख र सुनारलाई रु. ५० हजार धरौटीमा रिहा गरेको हो ।

अर्का आरोपी एवम् विद्यालयका सञ्चालक काठमाडौँ–३१ का ४२ वर्षीय सुरेन रसाइली विरुद्ध पक्राउ आदेश जारी भएपनि अझै फरार छन् ।

थुनछेकको बहसमा बादीका तर्फबाट अधिवक्ता सुरज खत्री, शान्ता पाठक र सरकारी वकिलले वहस गर्नु भएको थियो भने प्रतिबादीका तर्फबाट अधिवक्ता अशोक पोखरेलले वहस गर्नु भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

*

*

Adv footer