मेचीनगर,साउन २५। मेचीनगरका निजी विद्यालय सञ्चालक तथा शिक्षकहरु सरकारले ल्याउन लागेको शिक्षा ऐनको विरोध गर्दै आन्दोलित भएका छन् ।
निजी विद्यालय सञ्चालकहरुसँग छलफल नै नगरी सरकारले संघीय शिक्षा ऐन संसदमा पेश गरेको भन्दै उनीहरु आन्दोलित भएका हुन् । सरकारले संसदमा पेश गर्न लागेको संघीय शिक्षा ऐनमा हाल सञ्चालित निजी विद्यालयहरु पाँच वर्षमा सबै फरफारक गर्दै गुठीमा जानु पर्ने उल्लेख भएकाले निजी लगानीकर्ताको लगानी हडप्न खोजेको भन्दै त्यस्तो निर्णय तत्काल फिर्ता लिनुपर्ने प्याब्सन मेचीनगर अध्यक्ष डम्बर रूचालले बताए ।
उनले सरकारलाई निर्णय तत्काल फिर्ता लिन दबाब दिन विहीबार स्थानीय सरकार मेचीनगर नगरपालिलाई प्याब्सन र एनप्याब्सन मेचीनगरले संयुक्तरूपमा ध्यानाकर्षण गराइएको जानकारी दिए ।
विद्यालय शिक्षाका लागि मोटो रकम बाहिरिने गरेको भएपनि नेपालका निजी विद्यालयले सो रोकेको, राज्यबाट अनुमती लिएर राज्यलाई नै कर तिरेको नेपालमा रोजगारीका अवसर सिर्जना गरेको लगायतका योगदान गरेको भएपनि राज्यले भुलेर एकतर्फी निर्णय गरेकाले बिरोधमा उत्रिएको एन प्याब्सन मेचीनगर अध्यक्ष भगिरथ राईले बताए ।
निजी विद्यालयका सञ्चालक तथा शिक्षकहरुको समुहले शिक्षा ऐन संशोधनका लागि पहल गर्न मेचीनगर प्रमुख गोेपालचन्द्र बुढाथोकीलाइ ध्यानाकर्षण पत्र बुझाएका छन् । ध्यानाकर्षणपत्र बुझाउदै ऐन संशोधन नगरे भदौ १ गतेबाट निजी विद्यालय अनिश्चितकालीन बन्द गर्ने चतावनी समेत दिइएको छ ।