
बिर्तामोड, साउन २९ । प्रहरीले अवैध काठ र ट्र्याक्टरसहित दुईजनालाई झापाको बुद्धशान्तिबाट नियन्त्रणमा लिएको छ ।
बुद्धशान्ति गाउँपालिका वडा नम्बर ६ शान्तिनगरस्थित ज्यामिरे सामुदायिक वनमा काठ चोरी निकासी हुँदैछ भन्ने विशेष सूचना पाएपछि प्रहरी घटनास्थल पुगेको थियो ।
जिल्ला प्रहरी प्रवक्ता खगेन्द्रप्रसाद रिजालका अनुसार पक्राउ पर्नेमा बुद्धशान्ति गाउँपालिका वडा नम्बर ४ बस्ने २४ वर्षीय सविन विश्वकर्मा ३६ वर्षीय धनाहाङ लिम्बू रहेका छन् । विश्वकर्मा ट्र्याक्टरका चालक हुन् भने लिम्बू सोही ट्र्याक्टरमा सवार थिए ।
इलाका प्रहरी कार्यालय बुधबारेबाट खटिएको प्रहरीले मे.१ त. ६५३८ नम्बरको ट्र्याक्टरमा सखुवा जातको गोलिया काठ १६ थान ५८.२२ क्युफिट लोड भएको अवस्थामा फेला परेको थियो ।
विश्वकर्मा र लिम्बूसहित काठ र ट्र्याक्टर आवश्यक कारबाहीको लागि डिभजन वन कार्यालय भद्रपुर झापामा बुझाइएको प्रहरीले जनाएको छ ।