२०८१ जेठ ३ बिहीबार
Jhapa Today
Adv top
Adv below_nav

बढ्यो चिया श्रमिकको न्यूनतम पारिश्रमिक, अब दैनिक ज्याला ५००


बिर्तामोड, साउन ३२ । सरकारले चिया श्रमिकसहित सबै श्रमिकको न्यूनतम पारिश्रमिक बढाएको छ । चिया बगानका श्रमिकको मासिक पारिश्रमिक १३ हजार ८९३ रुपैयाँ पुगेको छ ।

यसअघि यो रकम १२ हजार ८१ रुपैयाँ रहेको थियो । उनीहरुको दैनिक पारिश्रमिक ५ सय रुपैयाँ पुगेको छ । यसअघि यो रकम ४३५ रुपैयाँ थियो ।

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले श्रम ऐन २०७४ अनुसार १ साउन २०८० बाट लागु हुनेगरी श्रमिकको न्यूनतम पारिश्रमिक बढाएको हो । मन्त्रालयको निर्णय बिहीबार राजपत्रमा समेत प्रकाशित भएको छ ।

प्रतिघण्टाका हिसाबले अब श्रमिकले ६६ रुपैयाँ पाउने छन् । यसअघि यो रकम ५७ रुपैयाँ प्रतिघण्टा रहेको थियो । चिया बगानका सरदार र नाइकेको दैनिक भत्ता ६३ रुपैयाँ पुगेको छ । यो रकम ५५ रुपैयाँ रहेको थियो ।

यसअघि झापाका चिया श्रमिकहरु एक महिनायता ज्यालाबृद्धिको माग गर्दै आन्दोलनमा थिए । उद्योगीसँग पटकपटक भएको वार्ता निष्कर्षविहीन बनेपछि श्रमिकले आन्दोलन सुरु गरेका थिए । उनीहरुले गत वर्ष असार ५ गते नै श्रम ऐन २०७४ अनुसार ज्यालाबृद्धिलगायतको सेवा सुविधा माग गर्दै उद्योगीलाई लिखित पत्र बुझाएका थिए ।

पत्र बुझाएको एक वर्षसम्म पनि सुनुवाई नभएपछि कामसँगै आन्दोलन पनि सुरु गरेका थिए । पछिल्लो तीन वर्षको महँगीका आधारमा २० प्रतिशत अर्थात हालको दैनिक ज्यालामा ८७ रुपैयाँ बृद्धि गर्नुपर्ने श्रमिकको माग थियो ।

मन्त्रालयका अनुसार चिया बगान बाहेकका श्रमिकको हकमा मासिक पारिश्रमिक १७ हजार ३ सय रुपैयाँ पुगेको छ । यसअघि श्रमिकको मासिक न्यूनतम पारिश्रमिक १५ हजार रुपैयाँ रहेको थियो ।

अहिले आधारभूत पारिश्रमिक १० हजार ८२० र महँगी भत्ता ६ हजार ४८० रुपैयाँ गरी १७ हजार ३०० पु¥याइएको हो । यसअघि आधारभूत पारिश्रमिक ९ हजार ३८५ र महँगी भत्ता ५ हजार ६१५ रुपैयाँ रहेको थियो ।

मन्त्रालयका अनुसार अब श्रमिकको दैनिक पारिश्रमिक ६६८ रुपैयाँ पुगेको छ । यसअघि यो रकम ५७७ रुपैयाँ रहेको थियो । आंशिक समय मात्र काम गर्ने कामदारको अब न्यूनतम पारिश्रमिक ९५ रुपैयाँ प्रतिघण्टा पुगेको छ । यसअघि यो रकम ७७ रुपैयाँ प्रतिघण्टा रहेको थियो । यसअघि सरकारले २०७८ सालमा श्रमिकको पारिश्रमिक निर्धारण गरेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

*

*

Adv footer