बिर्तामोड, भदौ ५ । गैरआवसीय नेपाल संघ (एनआरएनए) का अभियानमा सक्रिय रहँदै आएका झापा कनकाई– १ का प्रमोद सिटौलाले आसन्न निर्वाचनमा उपमहासचिव पदमा उम्मेदवारी घोषणा गरेका छन् ।
वर्तमान कार्यसमितिका सचिव समेत रहेका सिटौलाले यही अक्टोबरमा काठमाडौँमा हुन लागेको महाधिवेशनका लागि एनआरएनए अन्तर्राष्ट्रिय समन्वय समितिको उपमहासचिव पदमा उम्मेदवारी घोषणा गरेका हुन् ।
सिटौलाले एनआरएनएको सचिवालय व्यवस्थित गर्नका लागि आफ्नो पहल हुने बताए । अहिले सुरु भएको स्मार्ट एनआरएनएको अवधारणालाई अझ सफल बनाउनका लागि र सबैलाई साथमा लिएर अघि बढाउने काममा आफू लागि पर्ने उनको प्रतिबद्धता छ ।
कनकाई स्थायी घर भई विगत दुई दशकदेखि अमेरिकामा बसोबास गर्दै आएका सिटौला अन्तर्राष्ट्रिय झापाली समाजको पूर्वउपाध्यक्ष तथा हालका सल्लाहकार पनि हुन् । सिटौला प्रस्ट वक्ता र हकि स्वभावका व्यक्तिमा रुपमा चिनिन्छन् ।
सिटौलाका लागि ३५० जनाभन्दा बढी झापाली प्रतिनिधि रहेको बुझिएको छ । झापाबाट एनआरएनए आइसिसीको उच्च पदमा पुगेका सिटौला मात्र एक हुन् ।