२०८१ पुष ७ आइतबार
Jhapa Today
Adv top
Adv below_nav

अस्ट्रेलियाको विश्वविद्यालयको बोर्ड सदस्य भएपछि योजना बनाउन व्यस्त झापाकी मनस्वी


बिर्तामोड, भदौ ८ । झापा स्थायी घर भएकी मनस्वी पौडेल अस्ट्रेलियास्थित विश्वकै उत्कृष्टमध्येको विश्वविद्यालयको बोर्ड सदस्य निर्वाचित भएपछि योजना बनाउन व्यस्त छिन् ।

अन्तर्राष्ट्रिय विद्यार्थी बनेर आएको एक वर्ष नपुग्दै २६ वर्षीया पौडेल अस्ट्रेलियाको म्याकवारी युनिभर्सिटीको बोर्ड अफ डाइरेक्टरमा निर्वाचित भएकी हुन् । उनी सो पदमा चयन हुने पहिलो नेपाली विद्यार्थीसमेत बनेकी छन् ।

उनी अस्टे«लिया गएको करिब ८ महिनामै आफू अध्ययनरत विश्वविद्यालयको बोर्ड अफ डाइरेक्टरमा निर्वाचित भएकी हुन् । म्याकवारी युनिभर्सिटीमा उनी बिजनेस एनालिटिक्समा स्नातकोत्तर गर्दै छिन् ।

झन्डै ४० हजार विद्यार्थी अध्ययनरत म्याकवारी युनिभर्सिटीको बोर्डमा प्रतिनिधित्व गर्न उनी सफल भएकी हुन् । मनस्वी बोर्ड सदस्य भएको म्याकवारी अस्ट्रेलियाको चौधौँ उत्कृष्ट विश्वविद्यालय हो । विश्वको १९५ औँ उत्कृष्ट ।

के हुन्छ त बोर्ड सदस्य भएपछि ?

मनस्वीका अनुसार बोर्डमा विभिन्न क्षेत्रबाट प्रतिनिधि छानिएका हुन्छन्, जसले विश्वविद्यालय सञ्चालनका लागि विभिन्न योजना तर्जुमा गर्ने गर्छ । विश्वविद्यालय सञ्चालनका लागि विभिन्न विषयमा सल्लाह सुझाव दिनुका साथै आवश्यकताअनुसार निर्णय गर्ने काम पनि हो बोर्डको ।

त्यसको अर्थ उनले बोर्डमा रहेर विश्वविद्यालयमा अध्ययनरत विद्यार्थीको नेतृत्व मात्र गर्दिनन्, विश्वविद्यालयको शिक्षा, नियम, आर्थिकलगायतका विभिन्न विषयमा सल्लाह सुझाव दिने गर्छिन् ।

सन् २०२५ सम्मका लागि बोर्डमा छानिएकी उनी सहजै त्यहाँ पुगेकी भने होइनन् । अन्य ६ जना प्रतिस्पर्धीसँग विश्वविद्यालयले गरेको निर्वाचनमा अत्यधिक मतसहित विजयी भएकी हुन् । निर्वाचनअघि मत आफ्नो पक्षमा पार्नका लागि निर्वाचन अभियानमा निकै सक्रिय भइन् ।

तर आफूले गरेको ‘इलेक्सन क्याम्पेनिङ’ फरक रहेको उनको दाबी छ । विद्यार्थीले बोर्ड सदस्यमा निर्वाचित गरेका भए पनि उनी कुनै पनि विषयमा अनुत्तीर्ण भइन् भने बोर्डबाट हट्न सक्छिन् ।

झापाको काँकरभिट्टामा जन्मिएर यहीँबाट एसएलसी सकेकी उनले उच्चशिक्षा काठमाडौँबाट पूरा गरेकी हुन् । बुवा सरकारी बैंकका जागिरे र आमा स्थानीय राजनीति र समाज सेवामा सक्रिय रहेकाले पनि उनी सबैका सामु बोल्ने कला र महिला सशक्तीकरणबारे जानकार भइन् ।

६ कक्षामा अध्ययनरत रहँदा नै उनले झापाको बिर्तामोडमा आयोजित एक कार्यक्रममा हजारौँ दर्शकसामु करिब २० मिनेट बोल्ने अवसर पाएकी थिइन्  । उनका अनुसार त्यो नै उनलाई जीवनमा आत्मविश्वास दिलाउने पहिलो खुड्किलो थियो ।

अस्ट्रेलिया गएको करिब दुई महिनामै आफ्नै बलबुतामा ‘मिलेनियम वुमन लिडरसिप एक्सेन्स प्रोगाम’ अन्तर्गतको ग्रुपमा छानिएकी उनले उक्त कार्यक्रमअन्तर्गत आफ्नो ‘नेटवर्किङ’ विस्तार गरिरहेकी छन् ।

त्यसका साथै उनले विश्वका ठुलामध्येका कम्पनीका महिला नेतृत्वलाई विभिन्न माध्यमबाट भेट्ने अवसर पनि पाइसकेकी छन् । हुनत यो कार्यक्रमको मुख्य उद्देश्य महिला नेतृत्व निर्माण गर्ने मात्र नभई उच्च तह तथा पदमा पुगिसकेका महिलाहरूमार्फत मेन्टोरिङ गर्ने हो ।

मार्चदेखि डिसेम्बरसम्म चल्ने कार्यक्रममा छनोट भएपछि उनले माइक्रोसफ्ट, डेल, अमेजन, अर्नेस्ट एन्ड योङलगायतका कम्पनीका उच्च तहका अधिकारीसँग भेट्ने अवसर पाइसकेकी छन् । कार्यक्रम अझै ४ महिना बाँकी रहेकाले आफूले अझै धेरै सिक्न पाउने उनको विश्वास छ ।

उनले नेपालमा रहँदा नै महिला सशक्तीकरण, नेतृत्व विकासलगायतका विषयमा विभिन्न तालिम लिएर कामसमेत गरेकी थिइन् । अझ ‘गर्ल्स इम्पावरड वाई ट्राभल’ नामक संस्थाको बोर्डमा रहेर काम गरेको अनुभवले समेत अस्ट्रेलियामा सफलता पाउन मद्दत पुगेको उनी बताउँछिन् ।

-यो सामग्री इकान्तिपुरबाट सम्पादन गरी साभार गरिएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

*

*

Adv footer