२०८१ बैशाख २४ सोमबार
Jhapa Today
Adv top
Adv below_nav

८० करोड ठगेर बिर्तामोडबाट पङ्कज अग्रवाल फरार


फरार पंकज अग्रवाल

बिर्तामोड, भदौ १० । बिर्तामोडमा ‘पङ्कज चामल भण्डार’ नामको पसल सञ्चालन गर्दै आएका पङ्कज अग्रवालले ८० करोड रकम ठगेर फरार भएका छन् । उनले पाँचथर, ताप्लेजुङ, इलाम, झापा र सुनसरीका दुई सयभन्दा बढीको रकम ठगेको पीडितले बताएका छन् ।

अग्रवालले पाँच जिल्लाका दुई सयभन्दा धेरै व्यवसायीसँग न्यूनतम २५ हजारदेखि अधिकतम ८० लाख रुपैयाँसम्म ठगेर भागेको बताइएको छ । उनी धेरै सर्वसाधारण एवम् व्यापारीलाई ठगेर बेपत्ता भएको भन्दै प्रहरीकहाँ उजुरी परेको छ ।

बिर्तामोडमा पसल सञ्चालन गर्दै आएका उनी व्यवसायीबाट अलैँची र नगद लिएर एक महिनादेखि बेपत्ता भएका हुन् । उनी श्रीमती, बुबा, आमा र छोरीसँग बिर्तामोडमा बस्दै आएका थिए ।

अग्रवाल सपरिवार एक महिनायता बेपत्ता भएको भन्दै पीडितले प्रहरीमा उजुरी गरेका हुन् । उनका बुबा भारतबाट आएर ५० वर्षदेखि बिर्तामोडमा व्यापार गर्दै आएका थिए । पङ्कजको नाममा झापाबाटै ०४–०१–६९–१०९५३ नम्बरको नागरिकता जारी भएको छ । उनको स्थायी ठेगाना भारत पश्चिम बङ्गालस्थित राजगञ्ज हो ।

उनी सापटी र ब्याजमा रकम लिएर फरार भएको भन्दै प्रहरीमा उजुरीको चाङ लागेको हो । अग्रवालले स्थानीयको ८० करोडभन्दा धेरै रकम लिएर भागेको पीडितको दाबी छ । अग्रवालले पैसा दिँदा केही कारोबारीलाई कपाली तमसुक र केहीलाई भर्पाइ गरिदिएको पाइएको छ ।

पीडितले भएका सबै प्रमाण उजुरी पत्रसँगै संलग्न राखेका छन् । ठगीमा परेकामध्ये १७ जनाले जिल्ला प्रहरी पाँचथरमा सामुहिक निवेदन दिएका थिए । यसअघि अग्रवालबाट पीडित १३ जनाले इलाका प्रहरी कार्यालय बिर्तामोडमा निवेदन दिइसकेको प्रहरीले जनाएको छ ।

उनले केही कारोबारीलाई भाखा पुगेका दिन पैसा निकाल्नु भन्दै दिएका चेकको खातामा रकम नभएको पीडितहरूले बताएका छन् । ब्याजको प्रलोभनकै कारण टाढाबाट आएका व्यापारीलाई कारोबारीले ठुलो परिमाणमा पैसा सापटी दिने, भरपर्दो कागज नबनाउने र भागिसकेपछि मात्रै प्रहरी प्रशासन गुहार्ने गरेका कारण ठगिने क्रम नरोकिएको प्रहरीको भनाइ रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

*

*

Adv footer