

बिर्तामोड, भदौ ११ । झापाको भद्रपुर–९ स्थित केदारेश्वर शिवालय मन्दिरछेउबाट आज दिउँसो हराएकी भनिएकी बालिका मृत फेला परेकी छन् ।
जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी प्रवक्ता खगेन्द्रप्रसाद रिजालका अनुसार स्थानीय सोमनाथ सिग्देलकी २६ महिनाकी छोरी निर्जला मृत अवस्थामा फेला परेका हुन् ।

उनको शव घरदेखि ५०० मिटर दक्षिणतर्फको पक्की नालामा डुबेको अवस्थामा फेला परेको प्रहरीले जनाएको छ । प्रहरी घटनास्थलमा भर्खरै पुगेको छ ।

घर नजिकै रहेको केदारेश्वर शिवालय मन्दिर आमाबुबाले छोरी निर्जलालाई सँगै भजन सुन्न लगेका थिए । मन्दिरभित्र आमाबुबा भजन सुनिरहेको बेला निर्जला बाहिर खेल्दाखेल्दै नालामा पुगेको हुनसक्ने प्रहरील अनुमान लगाएको छ ।

बालिका हराएको भन्दै सामाजिक सञ्जालमा उनको तस्बिर समेत भाइरल बनेको थियो । घटनाको बारेमा जिल्ला प्रहरी कार्यालय झापालाई समेत खबर गरिएको थियो । बालिकाको खोजी गर्ने क्रममा साढे ३ घण्टापछि मन्दिरअगाडिको नालामा डुबेको अवस्थामा बालिकाको शव फेला परेको हो ।
