बिर्तामोड, भदौ १२ । झापाको कनकाई हस्पिटलमा कार्यरत डक्टर नीरज यादवको सडक दुर्घटनामा निधन भएको छ । आज बिहान मोरङको उर्लाबारीमा दुर्घटनामा यादवको निधन भएको हो ।
पूर्वपश्चिम राजमार्गअन्तर्गत उर्लाबारी–४ स्थित ओम सत्य साई पेट्रोल पम्पछेउमा टिप्परको ठक्करबाट सप्तरी घर भएका २८ वर्षीय यादवको मृत्यु भएको इलाका प्रहरी कार्यालय उर्लाबारीले जनाएको छ ।
इलाका प्रहरी कार्यालय उर्लाबारीका प्रहरी निरीक्षक देवेन्द्र दासका अनुसार पश्चिमबाट पूर्वतर्फ आउँदै गरेको प्र. १–०२–०५२ प ४२४१ नम्बरको मोटरसाइकल र पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको प्र. ३–००१ क ००९५ नम्बरको टिप्पर एकापसमा ठक्कर हुँदा मोटरसाइकलमा सवार यादव गम्भीर घाइते भएका थिए ।
उपचारका लागि तत्काल उर्लाबारी–३ स्थित मदन भण्डारी अस्पताल तथा ट्रमा सेन्टरमा पुर्याइएको भए पनि अस्पताल पुर्याएको केही समयपछि यादवको मृत्यु भएको थियो ।
यादव कनकाई हस्पिटलको इमर्जेन्सीमा कार्यरत रहेका थिए । हस्पिटलमा ड्युटी गर्नका लागि घरबाट आउँदै गर्दा उनी दुर्घटनामा परेको बताइएको छ । मोटरसाइकललाई ठक्कर दिने टिप्पर र चालक झापा मेचीनगर ११ का ४४ वर्षीय वीरबहादुर शेर्पालाई इलाका प्रहरी कार्यालय पथरीले नियन्त्रणमा लिएको छ ।