२०८१ जेठ ६ आइतबार
Jhapa Today
Adv top
Adv below_nav

मेची आँखा अस्पतालद्वारा भद्रपुरमा १५ शैय्याको उपचार केन्द्र सञ्चालनमा


भद्रपुर, भदौ २४ । मेची आँखा अस्पतालले झापाको भद्रपुरमा मेची आँखा उपचार केन्द्र सञ्चालनमा ल्याएको छ । अस्पतालले भद्रपुर ५ मा रहेको जग्गामा भवन निर्माण गरी आइतबार आजदेखि अन्तरंग विभाग सञ्चालनमा ल्याएको हो ।

दाता सत्यनारायण सरियाले दिएको जग्गामा भवन निर्माण गरी २०७५ सालमा सञ्चालनमा आएको उपचार केन्द्रको सेवा विस्तार भएको हो । उपचार सेवा लिन आउने सेवाग्रहीको संख्या बढ्न थालेपछि मेची आँखा अस्पतालले आफ्नो मातहतमा रहेको मेची आँखा उपचार केन्द्रको पनि सेवा विस्तार गरेको हो ।

शल्यक्रिया गर्नुपर्ने बिरामीको संख्या बढ्दै गएको र शल्यक्रियापश्चात बिरामीलाई अन्यत्र राख्नुपर्ने बाध्यताको समाधानका लागि करिब एक करोड रुपैयाँ लागतमा भवन निर्माण गरी १५ शैय्याको अन्तरंग विभाग सञ्चालनमा ल्याइएको भवन निर्माण समितिका संयोजक एवम् मेची आँखा अस्पताल संघका पूर्वअध्यक्ष छत्रप्रसाद अधिकारीले जानकारी दिए ।

आइतबार केन्द्र पसिरमा आयोजित एक कार्यक्रमका बीच भद्रपुर नगरपालिकाका नगरप्रमुख गणेश पोखरेलले अन्तरंग विभागको उद्घाटन गरे । अस्पतालका अध्यक्ष जलकुमार गुरुङको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन सचिव गणेश पोखरेलले गरेका थिए ।

संयोजक अधिकारीले स्वागत गरेको कार्यक्रममा रोटरी क्लब अफ भद्रपुरका अध्यक्ष विनोद चापागाईं, जग्गदाता सत्यनारायण सरिया, ओम साई पाथिभरा हस्पिटलका अध्यक्ष दिपक पोखरेल, अस्पतालका मेडिकल डाइरेक्टर पुरुषोत्तम जोशीलगायतले शुभकामना मन्तव्य राखेका थिए ।

भद्रपुरमा सञ्चालनमा आएको अन्तरंग विभागका लागि आवश्यक भौतिक सामग्रीहरु सरिया परिवारले नै सहयोग गरेको हो । केन्द्रमा हाल दैनिक सयको हाराहारीमा बिरामी आउने गरेको र प्रत्येक बुधबार १० जनासम्मको शल्यक्रिया हुने गरेको छ ।

शल्यक्रियासहितको तीनदिने निःशुल्क आँखा शिविर सुरु

यसैबीच, उपचार केन्द्र परिसरमा तीनदिने निःशुल्क शल्यक्रियासहितको आँखा शिविर सुरु भएको छ । केन्द्रमा नवनिर्मित अन्तरंग सेवा प्रारम्भको अवसर पारेर रोटरी क्लब अफ भद्रपुर, रोट्र्याक्ट क्लब अफ भद्रपुर र इनरह्वील क्लब अफ भद्रपुरको संयुक्त व्यवस्थापनमा आइतबारदेखि शिविर सुरु भएको हो ।

आर्थिक अभावका कारण उपचार गराउन नसकेका बिरामीहरुलाई लक्षित गर्दै निःशुल्क शिविर आयोजना गरिएको हो । शिविरको पहिलो दिन नै सेवाग्रहीको उल्लेख्य भीड लागेको छ । आँखा उपचारका लागि भद्रपुर मात्र नभई झापाका अन्य स्थानीय तह र छिमेकी भारतको सीमावर्ती क्षेत्रबाटसमेत बिरामी आएको रोटरी क्लब अफ भद्रपुरका अध्यक्ष विनोद चापागाईंले बताए ।

तीन दिनमा करिब एक हजारजनाको आँखा परीक्षण र करिब तीन सयजनाको शल्यक्रिया गरिने अनुमान गरिएको शिविर मंगलबारसम्म सञ्चालन हुने इनरह्वील क्लब भद्रपुरकी अध्यक्ष निर्मला निरौला खड्काले जानकारी दिइन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

*

*

Adv footer