२०८२ बैशाख १७ बुधबार
Jhapa Today
Adv top
Adv below_nav

सुस्तमनस्थिति युवतीमाथि बलात्कार गर्नेलाई उल्टै जग्गा दाइजो, एक महिनापछि पक्राउ


बिर्तामोड, भदौ २६ । झापाको कचनकवल गाउँपालिकामा बलात्कृत एकजना महिलाको परिवारबाट जग्गा दिएर बलात्कारीलाई उन्मुक्ति दिइएको छ ।

वडा नम्बर १ स्थित घेराबारीका करिब ५० वर्षीय छवि राजवंशीले सोही ठाउँकी सुस्तमनस्थिति भएकी ३१ वर्षीया युवतीलाई घरमा एक्लै भएको मौका छोपी बलात्कार गरेका थिए ।

बलात्कारीलाई कारबाहीको सिफारिस गर्नुको साटो जग्गा दिन लगाएर सुस्तमनस्थिति भएकी पीडित युवतीलाई राजवंशीको जिम्मा लगाइदिएका छन् ।

वडा सदस्य उग्रनारायण राजवंशीको रोहवरमा बसेको गाउँ समाजको बैठकले बलात्कारी राजवंशीलाई दाइजोस्वरुप पाँच कठ्ठा जग्गा पीडितका दाजु र भाइबाट दिलाएर पीडितलाई जिम्मा लगाएको थियो ।

गाउँ समाजले पीडित युवतीलाई जिम्मा लगाए पनि राजवंशीले आफ्नो घर भित्र्याएनन् । ती युवतीलाई उनकै घर फर्काइदिए । सोही विषयमा गाउँ समाजको बैठक पटकपटक बस्यो ।

समाजले पीडकलाई भन्दा पीडितलाई नै दबाब दिइरहे । पीडित युवतीको जिम्मा बुझेका राजवंशीले घरमा श्रीमती, छोेराछोरी, नाति नातिना भएका कारण युवतीलाई घर लगेनन् ।

गत साउन ३१ गते गरिएको कागजमा पीडक छवि राजवंशी, पीडित युवती र उनका दाजुलाई हस्ताक्षर गर्न लगाइएको छ भने साक्षीको रुपमा अनन्तलाल राजवंशी, पूजा राजवंशी र ऋतु राजवंशी बसेका छन् ।

पीडितका दाजुहरुले दिने भनेको जग्गा अहिले नै पास गरेर दिनुपर्ने र दाजुहरुले बस्ने घर पनि बनाइदिनुपर्ने दबाब राजवंशीले दिए ।

कचनकवल १ का वडा सदस्य उग्रनारायण राजवंशी, मेलमिलाप समितिका सदस्य उपेन्द्र राजवंशीलगायतले आफूलाई कानुनी कारबाहीका लागि प्रहरीकहाँ जान नदिएको पीडितका दाजुले बताए ।

उनले पहिलो बैठकका दिन गाउँ समाजले बहिनी पाल्नका लागि जबर्जस्ती पाँच कठ्ठा जग्गा दिन लगाएको बताए । आफूहरु अन्यायमा परिरहँदा जनप्रतिनिधि र गाउँ समाजले वडा कार्यालयमै छेकेर राखेको पीडितका दाजुको भनाइ छ ।

यसैबीच, प्रहरीले घटनामा संलग्न राजवंशीलाई आज दिउँसो पक्राउ परेको छ । पीडितका तर्फबाट जाहेरी परेपछि पक्राउ गरिएको झापाका प्रहरी प्रवक्ता खगेन्द्रप्रसाद रिजालले बताए ।

यसअघि राजनीतिक प्रभावमा परी प्रहरी चौकी घेराबारीले पीडितहरुले दिएको जाहेरी नलिएको स्थानीय समाजसेवी कर्ण राजवंशीले बताए । गाउँ समाजमै बसेर मिलाउन सक्ने देखेर आफूहरुले सो घटना मिलाएको वडा सदस्य उग्रनारायण राजवंशीले बताए ।

Adv footer