२०८१ पुष १३ शनिबार
Jhapa Today
Adv top
Adv below_nav

अटिजम के हो, यस्ता हुन्छन् लक्षणहरु


बिर्तामोड, असोज ७ । अटिजम स्नायु विकाससम्बन्धी समस्या हो, जुन बालबालिकाको विकास क्रममा देखिने गर्छ । अटिजम भएका बालबालिकामा सामाजिक सञ्चार र सामाजिक अन्तरक्रियामा समस्या हुनुका साथै व्यवहार एकोहोरो हुन्छ ।

अटिजम भएका बच्चाहरुमा अरुको बारेमा वास्ता नगर्ने, आँखामा आँखा जुधाएर कुरा नगर्ने, उमेर अनुसार बोल्न नसक्ने र कुनै व्यवहार बारम्बार गरिरहने जस्ता समस्या देखिन्छन् । अटिजमका लक्षण प्रायः २ वर्षको उमेरसम्ममा देखापर्छन् ।

हालसम्म अटिजमको निश्चित कारण यही नै हो भनेर पत्ता नलागे पनि विभिन्न अध्ययन, अनुसन्धानले मस्तिष्कको संरचना वा मस्तिष्कले गर्ने काममा समस्या हुनसक्ने औँल्याएका छन् । साथै वंशाणुगत, वातावरणीय प्रभावको कारणले पनि अटिजमको जोखिम बढाएको पाइएको छ ।

अटिजम भएका बालबालिका कसैसँग अन्तरक्रिया नगर्ने, आँखामा आँखा जुधाएर बोल्न नसक्ने, अरुसँग घुलमिल नहुने या एक्लै खेल्न मन पराउने, सामाजिक क्रियाकलापमा चासो नै नदिने, नामले बोलाउँदा प्रतिक्रिया नदिने, कुनै एउटा चिजमा मात्रै ध्यान दिइरहने, वस्तुहरूप्रति अनौठो लगाव, दोहोरो सम्वाद नगर्ने, आफ्नो भावना व्यक्त गर्न नसक्ने, अरुको भावना नबुझ्ने, उमेर अनुसार बोलीको विकास नहुने, अरुले भनेकै वाक्य वा शब्द दोहो¥याउने, एकोहोरो प्रकारको रुचि हुने, आफूलाई चाहिएको चिज या वस्तुलाई औँला नदेखाउने साथै चाहिएको अवस्थामा अरुको हात समातेर देखाउने, घाउचोट र दुखाइमा असामान्य बेवास्ता वा अत्यधिक प्रतिक्रिया दिने, असामान्य व्यवहार जस्तै, हल्लिने, मच्चिने, उफ्रिने, कुर्कुच्चा या औँलाले मात्रै टेकेर हिँड्ने, सामान्य रुपमा बुझ्न नसकिने अनौठा आवाजहरू निकाल्ने, घुमिरहेको वस्तुप्रति अत्यधिक लगाव हुने, निष्क्रिय या अत्यधिक चञ्चल हुने र दैनिक कार्यतालिकामा परिवर्तन गर्न मन नपराउने जस्ता लक्षण देखिन्छन् । यस्ता लक्षण देखिएमा तुरुन्त स्वास्थ्य संस्थामा लैजानुपर्छ ।

अटिजमको उपचारका लागि प्यारेन्ट म्यानेजमेन्ट ट्रेनिङ दिइन्छ । जसमा अभिभावकलाई बच्चाको व्यावहारिक सिप विकासमा सहयोग गर्ने पद्धतिहरु सिकाइन्छ । प्यारेन्ट म्यानेजमेन्ट ट्रेनिङ भनेको व्यवहार सम्बन्धी (बिहेबिएरल) थेरापी हो । जसमा रिवार्ड र पनिस्मेन्ट (पुरस्कार र सजाय) लाई कसरी सही तरिकाले प्रयोग कसरी गर्ने भनेर सिकाइन्छ ।

बच्चालाई पुरस्कार या दण्ड दुवै चिज दिने समयमा अभिभावकको स्थिरता, परिवारका सबै सदस्यले बालबालिकासँग गर्ने व्यवहारमा एकरूपता ल्याउने, बालबालिकालाई एउटा रुटिनमा राख्ने, बच्चाको सकारात्मक व्यवहारलाई प्रोत्साहन गर्ने, बालबालिकासँग हरेक दिन अभिभावकले निश्चित समय बिताउने, रमाइलो गर्ने जस्ता कार्य गर्दा बालबालिका र अभिभावकको सम्बन्ध सुमधुर हुन सहयोग पुग्छ । अभिभावक र बालबालिकाको सकारात्मक सम्बन्धले व्यवहार परिवर्तन गर्न ज्यादै प्रभावकारी भूमिका खेल्छ ।

बच्चाले नकारात्मक व्यवहार देखाएमा प्रायः अभिभावकले कुट्ने, गाली गर्ने जस्ता सजाय दिइरहनुभएको हुन्छ । त्यस्तो नगर्न हामी सल्लाह दिन्छौँ । बरु दण्डको सट्टा बच्चाले पाउने पुरस्कार नदिने, उसको मन पर्ने चिजहरू नदिने गर्नुपर्छ । समग्रमा यो ट्रेनिङमा रिवार्ड र पनिस्मेन्टलाई कसरी सही तरिकाले प्रयोग गर्ने भनेर सिकाइन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

*

*

Adv footer