२०८१ बैशाख २३ आइतबार
Jhapa Today
Adv top
Adv below_nav

गिरीबन्धुको जग्गाका लागि बिर्तामोडका चारजना व्यवसायीसँग साढे ३७ करोड रुपैयाँ लिएको खुलासा


बिर्तामोड, असोज ७ । कम्पनीको जग्गा बिक्री गर्ने प्रयोजनका लागि दुई वर्षअघि भूमिसुधार ऐन नै संशोधन गराउन सफल झापाको बिर्तामोडका छत्रबहादुर गिरी समूहले वर्षौंअघि देखि जमिन बिक्री गर्दै आएको खुलेको छ ।

बिर्तामोडका व्यवसायी विष्णुबहादुर राई, राजेन्द्र थापा, टंकप्रसाद उप्रेती र मणिकुमार प्रसाईंसँग २०७३ पुसमा नै गिरीले जग्गा दिने भन्दै रकम लेनदेन गरेको खुलेको हो । सो समयमा गरिएको कागजमा ३७ करोड ५० लाख रुपैयाँ राई, थापा, उप्रेती र प्रसाईंको समूहले गिरीबन्धु टि–स्टेटको नाममा एसबिआई बैंक बिर्तामोडमा जम्मा गर्ने सहमति भएको उल्लेख छ ।

बैंकमा जम्मा भएको सो रकम गिरी बन्धु टि–स्टेटका सञ्चालक छत्रबहादुर गिरीले जग्गामा उत्पन्न किचलो मेटाउने तथा सट्टापट्टा सम्बन्धी काममा खर्च गर्ने जनाइएको छ । सो कार्य गर्नका लागि दुवै पक्षको सहमति आवश्यक पर्ने पत्रमा उल्लेख छ ।

जग्गाको सट्टापट्टा तथा किचलो मेटाएपछि पूर्वपश्चिम राजमार्गको उत्तरतर्फको २५२ बिघा जग्गा गिरीले व्यवसायीको त्यो समूहलाई बिक्री गर्ने सहमति भएको पाइएको छ । कुल ३३९ बिघा १९ कठ्ठा जमिनमध्ये २५२ बिघा जग्गा खरिद गर्नका लागि झापाका व्यवसायीको समूहले ३७ करोड ५० लाख रुपैयाँ ‘आवश्यक प्रक्रिया मिलाउन’ दिएको पाइएको छ ।

वर्षाैंअघि देखि प्रयास गरेको भए पनि गिरी समूहले २०७८ सालमा मात्र मन्त्रिपरिषदबाट भूमिसुधार ऐन संशोधन गराउन सफल भएको थियो । भूमिसुधार ऐन संशोधन गराएर त्यस जग्गाको सट्टामा पृथ्वीनगरमा जग्गा खरिद गरेर चिया बगान स्थानान्तरण गर्ने योजना बनेको थियो ।

बिर्तामोडको मुख्य सहरसँग जोडिएको सो जग्गा अर्बौं मूल्यमा कारोबार हुन्छ । मूल्यवान जग्गा भएका कारण व्यवसायी दिपक मलहोत्रादेखि झापाका जग्गा व्यवसायीको आँखा त्यस जग्गामा परेको हो । पूर्वपश्चिम राजमार्गले छुने त्यस जग्गासँगैको ५१ बिघा जग्गा पनि २०६१ सालमा गैरकानुनी रुपमा हक हस्तान्तरण गरी बिक्री वितरण भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

*

*

Adv footer