
बिर्तामोड, असोज ८ । झापा बिर्तामोडमा केन्द्रीय कार्यालय रहेको सतासी बहुउद्देश्यीय सहकारी संस्थाको शेयर पुँजी ७ करोड ८८ लाख ६ हजार ४०० रुपैयाँ पुगेको छ ।

सफल सहकारी पसल सञ्चालन गरेर छुट्टै नाम कमाएको संस्थाको आज बिर्तामोडमा सम्पन्न २० औँ वार्षिक साधारणसभामा अध्यक्ष रुद्रमणि श्रेष्ठले संस्थाको जगेडा कोष र अन्य कोषहरु ७ करोड २४ लाख ७५ हजार ७३३ रुपैयाँको रहेको जानकारी गराए ।

त्यस्तै, समीक्षा वर्षको असार मसान्तमा निक्षेप मौज्दात ४५ करोड १४ लाख ६६ हजार ६२२ रुपैयाँ रहेको तथा बाह्य ऋण १७ करोड २७ लाख ४२ हजार ९९१ रुपैयाँ तिर्न बुझाउन बाँकी रहेको अध्यक्ष श्रेष्ठद्वारा प्रस्तुत प्रतिवेदनमा उल्लेख छ ।

सतासी बहुउद्देश्यीय सहकारीका सदस्यहरुमाझ संस्थाको ५५ करोड २० लाख ९१ हजार ९८५ रुपैयाँ कर्जा लगानीमा रहेको तथा समीक्षा वर्षमा संस्थाले २० लाख ६० हजार २१४ रुपैयाँ खुद मुनाफा कमाएको छ ।

कार्यक्रममा प्रमुख अतिथि राष्ट्रिय सहकारी महासंघका उपाध्यक्ष रमेशप्रसाद पोखरेल, कर्णाली बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष टसबहादुर श्रेष्ठलगायतले शुभकामना व्यक्त गरेका थिए ।
संस्थाका प्रबन्धक सन्तोषकुमार श्रेष्ठले सञ्चालन गरेको साधारणसभामा उपाध्यक्ष सुजता गुरुङ थापा मगरले स्वागत गरेकी थिइन् । कार्यक्रम संस्थाका अध्यक्ष रुद्रमणि श्रेष्ठको अध्यक्षतामा सम्पन्न भएको थियो ।