बिर्तामोड, असोज १२ । विभिन्न सामाजिक सञ्जाल र सञ्चारमाध्यममा अनैतिक क्रियाकलापमा संलग्न भएको सार्वजनिक भएका स्वास्थ्य शाखा प्रमुख मुकुन्द बस्नेतलाई शनिश्चरे अस्पतालले निलम्बन गरेको छ ।
बुधबार बेलुका वनमा अस्पतालकै एक कर्मचारीसँग अनैतिक क्रियाकलापमा संलग्न भएको भिडियो भाइरल भएको थियो ।
अस्पतालकी एक कर्मचारीसँग बसेको अवस्थामा उनकी श्रीमतीले लछारपछार पारेको भिडियो सामाजिक सञ्जालबाट सार्वजनिक भएको थियो ।
भिडियो सार्वजनिक भएपछि बसेको अस्पताल व्यवस्थापन समितिको आकस्मिक बैठकले बस्नेतलाई निलम्बन गरेको हो ।
बैठकले बस्नेतसँग स्पष्टीकरण माग गर्ने र अर्को व्यवस्था नहुञ्जेल उनलाई स्वास्थ्य शाखा प्रमुखको जिम्मेवारीबाट अलग गर्नका लागि कार्यालयलाई सिफारिस गर्ने निर्णय गरेको हो ।
शनिश्चरे अस्पताल व्यवस्थापन समितिका सदस्यसमेत रहेका बस्नेतलाई लिखित स्पष्टीकरणका लागि ३ दिनको म्याद पनि दिइएको छ ।
त्यस्तै, घटनामा संलग्न भनिएकी महिला स्वास्थ्यकर्मीलाई पनि स्पष्टीकरणका लागि ४८ घण्टाको समय दिएको अस्पताल व्यवस्थापन समितिको बैठकले निर्णय गरेको छ ।
घटना सार्वजनिक भएपछि अर्जुनधारा नगरप्रमुख बलदेवसिंह गोम्देनको निर्देशनमा अस्पताल व्यवस्थापन समितिको बैठक बोलाइएको थियो ।
यता बस्नेतले भने सडकको किनारमा बसिरहेको समयमा कसैले आफ्नी श्रीमतीलाई उकासेर घटना भएको बताएका छन् । उनले श्रीमती, भिडियोमा देखिएकी ती युवती र आफूसमेत भएर पत्रकार सम्मेलन गर्ने तयारी गरिरहेको जानकारी दिए ।
सम्बन्धित समाचार: