२०८१ कार्तिक २१ बुधबार
Jhapa Today
Adv top
Adv below_nav

मनसुन बाहिरिन ढिलो हुने, ३-४ दिन पानी पर्ने प्रक्षेपण


बिर्तामोडमा आज बिहान ०८ः३० बजे देखिएको बादल । तस्वीरः निकेश पोखरेल

बिर्तामोड, असोज १३ । यो वर्ष मनुसन ढिलो बाहिरिने जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । नेपालबाट मनसुन बहिर्गमनको औसत मिति अक्टुबर २ तारिख हो ।

हाल बंगालको खाडीको उत्तर–पश्चिम भागमा विकास भइरहेको न्यून चापीय क्षेत्र उत्तर–पश्चिम दिशातर्फ सरिरहेकाले त्यही प्रणालीका कारण आगामी तीन–चार दिनसम्म देशका धेरै स्थानहरुमा आंशिकदेखि सामान्य बदली हुनेछ ।

केही स्थानहरुमा मेघगर्जन चट्याङसहित हल्कादेखि मध्यम वर्षा हुने तथा कोशी, मधेश, गण्डकी र लुम्बिनी प्रदेशका एक वा दुई स्थानमा भारी वर्षा हुने सम्भावना रहेको हो ।

आउँदो तीन–चार दिनसम्म देशका धेरै स्थानमा बदली भई वर्षाको सम्भावना रहेकाले मनसुन ढिलो गरी बाहिरिने महाशाखाको अनुमान छ ।

महाशाखाले शुक्रबार साँझ विशेष बुलेटिन जारी गर्दै कोशी, मधेश, गण्डकी र लुम्बिनी प्रदेशका एक वा दुई स्थानमा भारी वर्षा हुने प्रक्षेपण गर्दै यात्रा गर्दा सतर्कता अपनाउन भनेको छ । २४ घण्टाको अवधिमा ५० मिलिमिटरसम्म पानी पर्नुलाई भारी वर्षा भनिन्छ ।

वर्षा कारण पहाडी भूभागमा पहिरो जानसक्ने जोखिम छ । यसैगरी ठुला तथा साना नदीनाला र खोलाहरूमा पानीको सतह बढ्नसक्ने, सडक र हवाई यातायात समेत प्रभावित हुनसक्ने सम्भावना छ ।

बाली भित्र्याउने समय पनि भएकाले आवश्यक सतर्कता अपनाउन र पूर्वतयारी गर्न महाशाखाले सरोकारवाला सबैलाई अनुरोध गरेको छ ।

नेपालमा मनसुन भित्रिने सरदर मिति जुन १३ र बाहिरिने सरदर मिति अक्टुबर २ तारिख हो । तर, यस वर्ष सरदर मितिभन्दा एक दिन ढिलो अर्थात जुन १४ तारिख (जेठ ३१ गते) मनसुन नेपाल भित्रिएको थियो ।

सरदर मितिअनुसार नेपालबाट मनसुन बाहिरिन अब दुई दिन मात्र बाँकी छ । कहिलेकाहीँ सरदर मितिभन्दा दुई–चार दिन ढिलो–चाँडो मनसुन बाहिरिनु र भित्रिनुलाई सामान्य रुपमा लिने गरिन्छ ।

मौसमविदहरुका अनुसार मनसुन बाहिरिनका लागि पश्चिमबाट पूर्वतिर हावा बहनुपर्छ अर्थात् पूर्वी वायु (मनसुनी वायु) लाई पश्चिमी वायुले विस्थापित गर्नुपर्छ । र, बंगालको खाडीबाट जलवाष्पयुक्त हावा आउनेक्रम रोकिनुपर्छ ।

पूर्वी नेपालबाट भित्रिएको मनसुन पश्चिम नेपालबाट बाहिरिन सुरु गर्छ । सामान्य हिसाबमा मनसुन बाहिरिन जाडो सुरु हुनुपर्छ । जाडोको वायु पश्चिमबाट चल्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

*

*

Adv footer