२०८१ पुष १३ शनिबार
Jhapa Today
Adv top
Adv below_nav

हम्सेदुम्से सहकारीले दिएन दूधको पैसा, ४७ लाख नदिँदा कृषक मारमा


दमक, असोज १४ । झापाको दमक–३ मा रहेको हम्सेदुम्से दुग्ध उत्पादन तथा संकलन सहकारीले कृषकलाई दूधको पैसा नदिएपछि गाईपालकहरु विदेसिने योजनामा पुगेका छन् ।

साउदी अरबबाट घर फर्किएर तीन वर्षअघि ६० लाख लगानी गरेर गाई फार्म खोलेका ओमशान्ति टोलका चेतन विष्ट सहकारीले दूधको पैसा नदिएर वाक्क भएका छन् । चेतनले बैंकबाट ऋण लिएर गाईपालन सुरु गरेका थिए ।

सहकारीले दूध किनिदिने भएपछि हौसिएर गाईपालन गरेका उनी अहिले भने थाकेका छन् । हम्सेदुम्से सहकारीले जेठदेखि पैसा नदिएको र आठ लाख रुपैयाँ लिन बाँकी रहेको विष्टले झापा टुडेलाई बताए ।

१६ वटा गाई पालेका विष्टले हम्सेदुम्से सहकारीलाई दैनिक दुई सय लिटरसम्म दूध दिँदै आएका थिए । पैसा नभएपछि गाईलाई चापट, पराल र दाना खुवाउन गाह्रो भएको उनको दुखेसो छ ।

विगतमा खर्च कटाएर मासिक एक लाख आम्दानी गर्दै आएका उनी एक लाख ६० हजारमा किनेको गाई बेच्न बाध्य छन् । खाना नपाएर गाईको भाउ पनि नपाएको उनले बताए ।

सहकारीले दूधको नौ लाख भुक्तानी नदिँदा दमक–३ का टंकबहादुर कार्की पनि सहकारी पीडित बनेका छन् । पर्याप्त दाना, घाँस खुवाउन नसक्दा गाई बिरामी पर्न थालेको कार्की बताउँछन् ।

तीन वर्षअघि ६२ लाखमा शान्ति कृषि फार्म खोलेका कार्की सहकारीले दूधको पैसा नदिँदा न त गाई पाल्न सक्ने अवस्थामा छन्, न त गाई फार्म बन्द गर्ने अवस्थामा ।

दमक–३ गोलाटारका नन्दकुमार थापाले गत फागुनमा ऋण लिएर दुईवटा गाई किनेका थिए । दूध बेचेर ऋणको किस्ता तिर्दै आएका थापाले गत जेठयता पैसा नपाएपछि ब्याजबाहेकको रकम तिर्न सकेका छैनन् ।

हम्सेदुम्से सहकारीले दूधको पैसा किन तिरेन ?

हम्सेदुम्सेले सहकारीका सदस्य कृषकबाट संकलन गरेको दूध गत जेठसम्म निजी संस्थालाई दिँदै आएको थियो । तर, निजी संस्थाले दूध लिन छाडेपछि अहिले दुग्ध विकास संस्थानलाई दिन थालेको छ ।

विगतमा किसानबाट दैनिक १८ सय लिटर दूध संकलन हुँदै आएकामा अहिले दैनिक सात–आठ सय लिटर मात्र दूध संकलन भइरहेको सहकारीका अध्यक्ष गेहनाथ पोखरेलले बताए ।

दुग्ध विकास संस्थाले पैसा नियमित नदिएपछि किसानलाई भुक्तानी गर्न नसकिएको उनको दाबी छ । संस्थानले अहिलेसम्म १८ लाख पैसा दिएको तर, करिब ५० लाख रुपैयाँ आउन बाँकी रहेको पोखरेलको भनाइ छ ।

सहकारीले कृषकको ४६–४७ लाख बक्यौता भुक्तानी गर्न बाँकी र वैकल्पिक व्यवस्था गरेर वा वित्तीय संस्थाबाट ऋण तथा सापटी मागेर कृषकको भुक्तानी गर्ने उनले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

*

*

Adv footer