२०८१ कार्तिक २१ बुधबार
Jhapa Today
Adv top
Adv below_nav

दमक ग्याङ फाइट प्रकरणः हत्यामा संलग्न ११ जना पक्राउ


दमक, असोज १५ । झापाको दमकमा तीन दिनअघि भएको ग्याङ फाइट प्रकरणमा संलग्न मुख्य आरोपीसहित ११ जनालाई पक्राउ गरी झापा प्रहरीले सार्वजनिक गरेको छ ।

दमक १ स्थित रुवेल माछा फ्राइमा साथीहरुबीच झगडा हुँदा छुरा प्रहारबाट इलाम चुलाचुली गाउँपालिका ३ का ३८ वर्षीय गोविन्द लिम्बूको हत्या भएको थियो ।

घटनामा संलग्न मुख्य आरोपी दमक ७ का २२ वर्षीय सनम राईसहित ११ जनालाई जिल्ला प्रहरी कार्यालय झापाले आज दमकमा सार्वजनिक गरेको हो ।

इलाका प्रहरी कार्यालय दमकमा सोमबार अपरान्ह पत्रकार सम्मेलन गरी मुख्य आरोपी राईसहित दमक १ का २२ वर्षीय आनन्द भुजेल, दमक ७ का १८ वर्षीय सवास आलम, दमक १ कुमालचोकको रुवेल माछा फ्राइका सञ्चालक विशाल कुमाल छन् ।

त्यस्तै, पक्राउ पर्नेमा दमक १ का २५ वर्षीय नामुद थेवे, २२ वर्षीय राजकुमार भुजेल, २६ वर्षीय आकाश केरुङ, दमक ७ का २३ वर्षीय राहुल श्रेष्ठ, २८ वर्षीय सलमान लिम्बू छन् ।

इलाम चुलाचुली ४ का ३१ वर्षीय सन्दिप राई, चुलाचुली ३ का ३८ वर्षीय सूर्य केरुङ, ३८ वर्षीय उपेन्द्र राईलाई सार्वजनिक गरिएको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता प्रहरी नायव उपरीक्षक खगेन्द्रप्रसाद रिजालले बताए ।

उनले घटनाकै दिन होटल सञ्चालक कुमालसहित आठजना र आज मुख्य आरोपी सनम राईसहित तीनजनालाई मोरङको उर्लाबारी १ टप्पुटोलबाट नियन्त्रणमा लिइएको जानकारी दिए ।

उनका अनुसार तीन दिनअघि दमक १ स्थित कुमालचोकको रुवेल माछा फ्राइमा मदिरा सेवन गरेपछि आपसी झगडा हुँदा मुख्य आरोपी राईले लिम्बूको घाँटी तथा हातमा छुरा प्रहार गरी हत्या गरेका थिए ।

हत्यालगत्तै उनी फरार भएका थिए । उनले नै लिम्बूमाथि छुरा प्रहार गरेको अनुसन्धानका क्रममा खुलेको रिजालले बताए ।

मुख्य आरोपी राईले हत्यामा संलग्न छुरा विराटनगर ९ स्थित सन्सारी मन्दिरछेउ झाडीमा फ्यालेका थिए । सो छुरा फेला पारेर बरामद गरिएको र घटनाका बारेमा थप अनुसन्धान भइरहेको दमकका प्रहरी नायव उपरीक्षक मनोजकुमार लामाले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

*

*

Adv footer