बिर्तामोड, असोज १६ । हाम्रो शरीरको सबैभन्दा ठुलो अंग कलेजो हो । यो लगभग एक–साढे एक केजीको हुन्छ । यसका काम अनेकौँ हुन्छन् । यसमध्ये पनि मुख्य भनेको शरीरको आन्तरिक व्यवस्थापन गर्नु हो । कलेजोले हाम्रो शरीरमा आवश्यक पर्ने प्रोटिन र आल्मुनियम जस्ता थुप्रै तत्वहरु बनाउँछ ।
हामीले खाएको खाना कलेजोमा जान्छ र सुगर तथा पोषिलो तत्व बढेको हुन्छ । नखाएका बेलाका लागि पनि यसले सन्तुलन गरिराखेर व्यवस्थापन गर्छ । केही हानिकारक कुरा खाइएमा त्यसलाई फाल्ने काम पनि कलेजोले गर्छ । हामीले खाएका औषधि कलेजोमा गएर मेटाबोलाइज हुन्छन् ।
हाम्रो रगतमा हेमोग्लोबिन हुन्छ, जसले अक्सिजन लिन्छ । यसलाई रातो बनाउने काम रक्तकोषिकाले गर्छन्, जो १२० दिनमा मर्छन् । रक्तकोषिकाहरु मरेपछि हेमोग्लोबिन पहेँलो पदार्थमा परिणत हुन्छ । यसलाई ‘कन्जुकेट’ गरेर फाल्ने काम कलेजोले गर्छ । आज हामी सामान्यतया कलेजो सफा पार्ने खानेकुराको बारेमा चर्चा गर्दैछौँ ।
प्याज– प्याजमा लिभर इन्जाइमलाई सक्रिय बनाउने क्षमता हुन्छ, जसले शरीरमा भएका विषाक्त पदार्थलाई बाहिर निकाल्न मद्दत गर्छ । यसमा अधिक मात्रामा हुने अलाइसिन र सेलेनियम नामक दुईवटा प्राकृतिक तत्वले कलेजोलाई सफा पार्छन् ।
अंगुर– अंगुरमा भिटामिन सि र एन्टिअक्सिडेन्ट उच्च मात्रामा पाइन्छ, जसले कलेजोलाई प्राकृतिक रुपमा सफा पार्छ । एक गिलास अंगुरको रसले कलेजोलाई विषाक्तमुक्त गर्ने इन्जाइम उत्पादनमा सहयोग गर्छ ।
चुकन्दर र गाँजर – यी दुवैमा बेटा क्यारोटिन उच्च मात्रामा पाइन्छ । त्यसैले, चुकन्दर र गाँजरको सेवनले कलेजोले काम गर्ने क्षमता बढाउँछ ।
ग्रीन टि– यो कलेजोको स्वास्थ्यका लागि उपयुक्त पदार्थ हो । यसमा क्याटेचिन्स नामक एन्टिअक्सिडेन्ट पाइन्छ, जसले कलेजोलाई सहयोग गर्छ । ग्रिन टि स्वादिष्ट मात्र नभएर यसले समग्र डाइटमा पनि वृद्धि गर्छ । तर, ख्याल गर्नुहोला एकैपटक धेरै ग्रिन टि पिउनु हुँदैन ।
हरिया सागसब्जी – कलेजो सफा गर्ने शक्तिशाली खाद्यपदार्थमा हरिया सागसब्जी पनि पर्छन् । काँचै खाँदा, पकाएर खाँदा या जुस बनाएर जसरी खाए पनि यो कलेजोको स्वास्थ्यका लागि उपयोगी हुन्छ । यसमा क्लोरोफिल्स पाइने भएकाले रगतबाट वातावरणीय विषाक्त पदार्थ निकाल्न मद्दत गर्छ ।
एभोकाडो– पोषकतत्वले भरपूर एभोकाडोले कलेजो सफा गर्न आवश्यक तत्व ग्लुटाथाइन उत्पादन गर्न सहयोग गर्छ ।
स्याउ– यसमा पेक्टिन नामक तत्व उच्च मात्रामा पाइने भएकाले पाचन प्रणालीबाट विषाक्त पदार्थ सफा गर्छ ।
जैतुनको तेल– जैतुनको तेलले पनि शरीरमा भएका हानिकारक पदार्थ निकाल्न मद्दत गर्छ ।
ब्रोकाउली र काउली– यी तरकारीले शरीरमा ग्लुकोसिनोलेट नामक तत्व वृद्धि गर्छन्, जसले कलेजोमा इन्जाइमको काम गर्छ । यी प्राकृतिक इन्जाइमले शरीरबाट कार्सियोजिन्स र अन्य विषाक्त पदार्थहरु बाहिर निकाल्न मद्दत गर्छ । यसबाट क्यान्सर हुने खतरा पनि कम हुन्छ ।
कागती – सिटरस जातका फलफूलमा उच्चमात्रामा भिटामिन सि पाइन्छ । बिहान नियमित रुपमा कागती पानी पिउनाले कलेजोलाई राम्रोसँग काम गर्न मद्दत गर्छ ।
बेसार – बेसारले पनि शरीरबाट विषाक्त पदार्थ हटाउन कलेजोलाई सहयोग गर्छ । यसले शरीरबाट कार्सियोजेन्स हटाई क्यान्सर लाग्ने सम्भावनालाई पनि न्यून गर्छ ।