२०८२ असार १७ मंगलबार
Jhapa Today
Adv top

पूर्वकप्तान खड्काले ‘अन्जिला’ फिल्ममा खेल्ने


बिर्तामोड, असोज २० । राष्ट्रिय फुटबल टोलीका पूर्वकप्तान हरि खड्काले फिल्ममा अभिनय गर्ने भएका छन् । महिला राष्ट्रिय फुटबल टोलीकी गोलकिपर एन्जिला तुम्बापो सुब्बाको जीवनमा आधारित अन्जिलामार्फत खड्काले फिल्ममा डेब्यु गर्ने भएका हुन् ।

फिल्मका निर्माता प्रेमकुमार श्रेष्ठ र खड्काबीच शुक्रबार फिल्मका लागि सम्झौता भएको हो । उनले फिल्ममा फुटबल प्रशिक्षकको भूमिका निर्वाह गर्नेछन् ।

‘प्रेम श्रेष्ठले पहिला देखि नै भन्नुभएको थियो । तर, मैले गर्ने नगर्ने निर्णय लिन सकिरहेको थिइन्, खड्काले भने, निर्देशकसँगको सल्लाहपछि फेरि उहाँले प्रस्ताव गर्नुभयो । आफूले वास्तविक जीवनमै निर्वाह गरिरहेको भूमिकामा अभियन गर्ने प्रस्ताव आएपछि सहज होला भन्ने विश्वासमा तयार भएको हुँ ।’

वास्तविकतामा आधारित भएको फिल्म भएकोले खड्कालाई राष्ट्रिय टोलीको प्रशिक्षककै भूमिकामा खेलाउँदा उपयुक्त देखेर प्रस्ताव गरेका हौँ,’ निर्माता श्रेष्ठले भने, ‘उहाँमा अभियन गर्ने आत्मविश्वास पनि देखिन्छ ।’

खड्काले यसअघि कप्तानमा पनि पर्दा पछाडि रहेर सहयोग गरेका थिए । खड्का महिला राष्ट्रिय टोलीका पूर्वप्रशिक्षक पनि हुन् । देशका लागि सर्वाधिक अन्तर्राष्ट्रिय गोल गर्ने दुईमध्ये खड्का एक हुन् । उनले र नीराजन रायमाझीले समान १३ गोल गरेका छन् ।

झापा भद्रपुरका स्थायी बासिन्दा खड्काले तीन वर्षअघि हिमालयन टेलिभजिनको ‘डान्सिङ विद द स्टार्स नेपाल’ मा पनि भाग लिएका थिए ।

अन्जिला निर्माणको घोषणा २०७८ चैत ८ गते भएको थियो । फिल्ममा अन्जिलाको भूमिका एन्जिलाले नै निर्वाह गर्नेछिन् ।
केन्द्र मोसन पिक्चर्सको प्रस्तुतिमा रहने फिल्म निर्माणको सहकार्य मुन लभ इन्टरटेमेन्टले गर्नेछन् । एन्जिलासँगै दयाहाङ राई, सिर्जना सुब्बा, बुद्धि तामाङ, माउत्से गुरुङ, प्रेमकुमार श्रेष्ठलगायतको फिल्ममा अभिनय रहने घोषणाका क्रममा बताइएको थियो ।

श्रेष्ठ र केन्द्र लिम्बु निर्माता रहेको फिल्ममा सह निर्मातामा विनोद अग्रवाल र राजेश अग्रवाल रहेका छन् । फिल्मको निर्देशक मिलन चाम्स हुन् । फिल्म छायाङ्कन गत वर्षबाटै गर्ने भनिए पनि कात्तिक १० गतेबाट फिल्म निर्माण सुरु गर्ने निर्माता श्रेष्ठले जानकारी दिए । फिल्म इलामको फिक्कल र काठमाडौँमा छायाङ्कन गर्ने बताइएको छ ।

Adv footer